ट्राफिक नियम मिच्दा अब १ लाखसम्म जरिवाना: मापसेमा ५० हजार र पैदल यात्रीलाई ५ सयको प्रस्ताव

काठमाडौँ, ११ असार । सडक अनुशासन कायम गराउन सरकारले सवारी नियम उल्लंघन गर्ने विरुद्ध कडा कानुनी व्यवस्थाको तयारी थालेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको नयाँ विधेयकको मस्यौदामा ट्राफिक नियम उल्लंघन गर्नेलाई न्यूनतम ५ सयदेखि अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ।

‘यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मार्फत जरिवानाको दरमा भारी वृद्धि गर्दै सडक सुरक्षालाई थप कडाइ गर्न लागिएको हो।

प्रस्तावित विधेयकमा सबैभन्दा धेरै जरिवाना सवारीको सिसामा केन्द्रित गरिएको छ। सवारी साधनमा अपारदर्शी सिसा प्रयोग गर्ने वा बाहिरबाट भित्र नदेखिने गरी अन्य वस्तु राख्ने चालकलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ।

मादक पदार्थ (मापसे) वा लागू पदार्थ (लापसे) सेवन गरी सवारी चलाउनेलाई पनि सरकारले कडा दण्डको घेरामा ल्याएको छ। सवारीको प्रकार हेरेर यस्तो कसुरमा २५ हजार, ३५ हजार र ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। यस्तै, निर्धारित गतिभन्दा ६० प्रतिशतभन्दा बढी गतिमा सवारी चलाउनेलाई पनि चर्को जरिवानाको प्रस्ताव गरिएको छ।

नयाँ कानुनले सवारी चालकलाई मात्र नभई पैदल यात्रीलाई पनि उत्तरदायी बनाउन खोजेको छ। सडकको निर्धारित स्थान (जेब्रा क्रसिङ वा आकाशे पुल) बाहेकका ठाउँबाट जथाभाबी बाटो काट्ने पैदल यात्रीलाई ५ सय रुपैयाँ जरिवाना गर्ने मस्यौदामा उल्लेख छ।

मस्यौदामा उल्लेखित केही प्रमुख जरिवाना दरहरू यस प्रकार छन्:
१० हजार रुपैयाँ: लेन अनुशासन पालना नगरेमा, फुटपाथमा सवारी चलाएमा, विपरीत दिशाबाट सवारी चलाएमा (वान-वे उल्लंघन) वा सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरेमा।
२५ हजार रुपैयाँ: अनुमति नलिई विदेशी सवारी साधन चलाएमा।
५ हजारदेखि २५ हजारसम्म: सडकमा मालसामान वा निर्माण सामग्री राखेर बाटो अवरुद्ध पारेमा।
५ हजारदेखि २० हजारसम्म: सार्वजनिक सवारीले क्षमताभन्दा बढी यात्रु बोकेमा।
५ हजारदेखि १५ हजारसम्म: सवारी प्रदूषण परीक्षण प्रमाणपत्र नराखेमा।
३ हजारदेखि ५ हजारसम्म: ट्राफिक संकेत वा बत्ती (ट्राफिक लाइट) पालना नगरेमा।
३ हजार रुपैयाँ: सिट बेल्ट वा हेलमेट नलगाई सवारी चलाएमा।

अब ट्राफिक जरिवानाको भुक्तानी पूर्ण रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। चालकले नागरिक एप वा अन्य विद्युतीय प्रणालीबाट जरिवाना तिर्न सक्नेछन्। जरिवाना तत्काल भुक्तानी नगरेमा ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक वा बाटो इजाजतपत्र नियन्त्रणमा लिन सक्ने र जरिवाना तिरेपछि मात्र फिर्ता दिने व्यवस्था मिलाइएको छ।

एउटै गल्ती दोहोर्‍याउने चालकलाई थप सजायको व्यवस्था गरिएको छ। दोस्रो पटक नियम मिच्दा ५० प्रतिशत थप र सोभन्दा बढी पटक गल्ती गरेमा शतप्रतिशत थप जरिवाना लाग्नेछ। यसका साथै यातायात निरीक्षकहरूलाई जुनसुकै समयमा सवारी र चालकको व्यवहार निरीक्षण गर्ने पूर्ण अधिकार समेत दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *