धनकुटामा एमाले उम्मेदवार राजेन्द्र राईको फराकिलो अग्रता
काठमाडौँ, फागुन २३ । धनकुटामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राजेन्द्रकुमार राईले आफ्नो अग्रतालाई कायमै राख्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार एमाले उम्मेदवार राई १० हजार ८५३ मतका साथ अग्रस्थानमा रहनुभएको छ। उहाँलाई श्रम संस्कृति पार्टीका उम्मेदवार शानबहादुर राईले पछ्याइरहनुभएको छ। शानबहादुरले हालसम्म ७ हजार ५२६ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई तेस्रो स्थानमा हुनुहुन्छ। उहाँले ६ हजार ६७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। धनकुटामा मतगणना कार्य जारी रहेको छ र मुख्य प्रतिस्पर्धीहरूबीचको मतान्तर निकै रोचक देखिएको छ ।