चितवनमा अटो दुर्घटना: चालकसहित ४ जनाको मृत्यु, १ गम्भीर घाइते

चितवन, २३ फागुन । चितवनको कालिका नगरपालिकामा आइतबार साँझ भएको अटो रिक्सा दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

उर्पदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको अटो अनियन्त्रित भई नालामा खस्दा अन्य एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडक खण्डमा बा प्र ०६–००१ ह ०३१५ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडक किनारको नालामा पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चारै जनाको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र अधिकारीका अनुसार मृत्यु हुनेहरूमा:
१. पूर्ण विक (३९ वर्ष, अटो चालक) – राप्ती नगरपालिका–९
२. विष्णु कुमारी तामाङ (५६ वर्ष) – राप्ती नगरपालिका–८
३. बिनी तामाङ (२२ वर्ष) – राप्ती नगरपालिका–९
४. तिलक तामाङ (५५ वर्ष) – राप्ती नगरपालिका–९

सोही दुर्घटनामा परी राप्ती–९ की ५३ वर्षीया चिनीकुमारी गुरुङ घाइते हुनुभएको छ । उहाँको शरीरका विभिन्न भागमा चोट लागेको र हाल पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ओरालो र घुम्ती बाटोमा तीव्र गतिका कारण अटो अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।