विश्व व्यापार सङ्गठनको ‘व्यापार तथा वातावरण समिति’ को अध्यक्षमा नेपाल सर्वसम्मत चयन
काठमाडौँ, फागुन २९ । नेपालले विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ) को महत्वपूर्ण अङ्ग ‘व्यापार तथा वातावरण समिति’ को नेतृत्व प्राप्त गरेको छ। जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियोगका अनुसार, यही फागुन २७ गते सम्पन्न महासभाको बैठकले नेपाललाई एक वर्षको कार्यकालका लागि सर्वसम्मत रूपमा समितिको अध्यक्ष चयन गरेको हो ।
यो समिति डब्ल्युटीओका सदस्य राष्ट्रहरू बिच व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव र पर्यावरणीय नीतिहरूले व्यापारमा पार्ने असरका साथै जलवायु परिवर्तनसँग सम्बन्धित व्यापारिक मुद्दाहरूमा छलफल र समन्वय गर्ने प्रमुख मञ्च हो ।
अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने क्रममा रहेको नेपालका लागि यो जिम्मेवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यस भूमिकाले डब्ल्युटीओका सदस्य राष्ट्रहरूसँग निकट रहेर सहकार्य गर्न र नेपाली व्यापारलाई विश्वव्यापी बजारको प्रणालीमा प्रभावकारी ढङ्गले एकीकृत गर्न थप बल पुग्ने अपेक्षा गरिएको छ ।
समितिमा नेपालको तर्फबाट संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले नेतृत्व प्रदान गर्नुहुनेछ ।