खाद्य कम्पनीको नेपालगन्ज गोदाममा १९ हजार क्विन्टल चामल मौज्दात, प्रतिक्विन्टल ६ सयसम्म मूल्य घट्यो

बाँके, ६ चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य गोदाममा यतिबेला १९ हजार क्विन्टल चामल थन्किएको छ । कम्पनीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न चामलको दररेटमा समेत समायोजन गरेपछि मौज्दात चामलको बिक्री वितरण र ढुवानी कार्यलाई तीव्रता दिइएको छ ।

कम्पनीका नेपालगन्ज प्रमुख रामशरण लामिछानेका अनुसार गोदाममा हाल विभिन्न प्रजातिका चामल भण्डारण गरिएको छ । जसमा ५ हजार क्विन्टल जिरा मसिनो, ५ हजार क्विन्टल अरुवा मसिनो र ९ हजार क्विन्टल अरुवा मोटो चामल रहेको छ । चामलका अतिरिक्त यसै वर्ष खरिद गरिएको १० हजार क्विन्टल धान समेत कुटाउन बाँकी अवस्थामा भण्डारण गरिएको छ ।

कम्पनीले यसपटक चामलको मूल्यमा उल्लेख्य कटौती गरेको छ । स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न र उपभोक्तालाई सहुलियत दिन प्रतिक्विन्टल ५०० देखि ६०० रुपैयाँसम्म मूल्य घटाएर बिक्री सुरु गरिएको लामिछानेले जानकारी दिनुभयो । “हाम्रो चामल गुणस्तरीय र विश्वसनीय हुने भएकाले उपभोक्ताको आकर्षण बढेको छ, मूल्य समायोजनले यसलाई अझ सहज बनाएको छ,” उहाँले भन्नुभयो ।

नेपालगन्ज गोदामबाट कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु र जाजरकोटका दुर्गम डिपोहरूमा मागअनुसार चामल पठाउने कार्य भइरहेको छ । हाल कर्णालीका जिल्लाहरूमा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले कुनै सङ्कट नरहेको र आवश्यकता परेमा नेपालगन्जबाट तत्काल थप खाद्यान्न पठाउन सकिने गरी तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ ।

यस वर्ष बाँकेका किसानले भने धान बिक्रीमा सास्ती भोग्नुपरेको छ । कम्पनीले जिल्लाका लागि २० हजार क्विन्टल मात्र धान खरिद गर्ने कोटा तोकेका कारण धेरै किसानले आफ्नो उत्पादन कम्पनीलाई बिक्री गर्न पाएनन् । बिक्रीका लागि धान लिएर आएका किसानहरू कोटा सकिएको भन्दै रित्तै हात घर फर्कनुपरेको थियो ।
यस वर्ष सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ तोकेको थियो । तर, सरकारी खरिदको न्यून कोटाका कारण किसानहरू सस्तो मूल्यमा निजी गल्ला व्यापारीलाई धान बेच्न बाध्य भएका छन् ।