बाजुरामा पाँच वर्षमा क्षयरोगबाट १८ जनाको मृत्यु, बडीमालिका नगरपालिका उच्च जोखिममा

काठमाडौँ, चैत १० । बाजुरा जिल्लामा विगत पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय बाजुराले सार्वजनिक गरेको तथ्याङ्कले जिल्लामा क्षयरोगको अवस्था भयावह रहेको देखाएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुमार न्यौपानेका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर १४१ जना नयाँ क्षयरोगी फेला परेका थिए भने हाल ८१ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये बडीमालिका नगरपालिका सबैभन्दा बढी प्रभावित देखिएको छ, जहाँ प्रतिलाख २१९ जनामा क्षयरोगको संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल बाजुराका प्रमुख डा. चन्द्रशेखर यादवले क्षयरोगलाई दिवसका रूपमा मात्र नमनाई यसको उन्मूलनका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई छिटो आक्रमण गर्ने यो रोग खोक्दा, हाँछ्यु गर्दा र थुक्दा हावाको माध्यमबाट सर्ने गर्दछ । लामो समयसम्म खोकी लाग्नु, खकारमा रगत देखिनु, ज्वरो आउनु, राति पसिना आउनु र तौल घट्नु यसका मुख्य लक्षण हुन् ।

नेपाल पत्रकार महासङ्घ बाजुराका पूर्वअध्यक्ष प्रकाश सिंहले तथ्याङ्क सङ्कलनमा मात्र सीमित नभई ग्रामीणस्तरमा सचेतनामूलक र अनुसन्धानमुखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।

सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्ममा पूर्ण उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोगको उपचार निःशुल्क उपलब्ध भए पनि भौगोलिक विकटता, सामाजिक संकुचन र स्वास्थ्य संस्थासम्मको पहुँच अभावका कारण अझै पनि धेरै बिरामी उपचारको दायराभन्दा बाहिरै रहेको पाइएको छ । समयमै पहिचान र नियमित औषधि सेवन गरेमा यो रोग पूर्ण रूपमा निको हुने चिकित्सकहरूको भनाइ छ ।