कालीकोटमा भेटियो दुर्लभ वन्यजन्तु रेडपान्डा

कालीकोट, ३ असार । कालीकोट जिल्लाका तीन वटा स्थानीय तहमा विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) फेला परेको छ । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा रेडपान्डाको बासस्थान र उपस्थिति पुष्टि भएको हो ।

संरक्षणको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संस्थाहरूका अनुसार तिलागुफा नगरपालिका–१० को रुरुबन्चु पाटन, शुभकालिका गाउँपालिका–६ को हाउडी लेक र महावै गाउँपालिका–२ को महावै पाटन क्षेत्रमा रेडपान्डा भेटिएको हो ।

हुरन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीपकुमार शाहीले जैविक विविधता अनुगमनका क्रममा तिलागुफाको रुरुबन्चु क्षेत्रमा रेडपान्डा फेला परेको जानकारी दिए । “हाम्रो संस्थाले समुदायलाई संरक्षणमा लाग्न सचेतना जगाउँदै आएको छ,” शाहीले भने, “विशेष गरी रेडपान्डाको बासस्थानका रूपमा रहेको निगालो र बाँसको जङ्गल जोगाउन स्थानीयलाई आग्रह गरिएको छ ।”

तिलागुफा नगरपालिकाका प्रमुख महेन्द्रबहादुर शाहीले रुरुबन्चु पाटनमा रेडपान्डा भेटिनु नगरकै लागि गौरवको विषय भएको बताए । उनले भने, “विगतमा स्थानीयले देखेको बताउँदै आएका थिए, अहिले अनुसन्धानबाटै पुष्टि भएको छ । यसको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले सङ्घसंस्थासँग मिलेर काम गरिरहेको छ ।”

शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यका अनुसार हाउडी लेक क्षेत्रमा रेडपान्डाको राम्रो बासस्थान फेला परेको छ । त्यस्तै, महावै गाउँपालिकाले पनि महावु पाटन क्षेत्रमा रेडपान्डाको उपस्थिति रहेको र त्यसलाई संरक्षण गर्ने नीति लिएको जनाएको छ ।
रेडपान्डा विशेष गरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बस्ने गर्छ । तर, जङ्गलमा बढ्दो मानवीय चाप, घाँसदाउराका लागि हुने वन विनाश, डढेलो र गोठालो कुकुरहरूको आक्रमणका कारण यो दुर्लभ प्राणीको बासस्थान सङ्कटमा पर्दै गएको संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।