काठमाडौँमा मेलम्चीको पाइप बिछ्याउने कार्यमा तीव्रता : १८०० मिलिमिटरको ‘जम्बो’ पाइप प्रयोग, भक्तपुरदेखि कीर्तिपुरसम्म पानी पुग्ने

काठमाडौँ, ३ असार । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकाका घर-घरमा प्रभावकारी रूपमा पुर्‍याउन सरकारले पूर्वाधार विस्तारको कामलाई तीव्र पारेको छ । यसै क्रममा सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यास भएको ‘जम्बो’ पाइप बिछ्याउने कार्य सुरु गरिएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का अनुसार यो पाइप नेपालमा खानेपानी वितरणका लागि प्रयोग गरिएको हालसम्मकै सबैभन्दा ठूलो साइजको पाइप हो ।

पीआईडीले काठमाडौँ उपत्यकाका थप क्षेत्रमा मेलम्चीको पानी पुर्‍याउन नयाँ पाइपलाइन विस्तारको प्रक्रिया अघि बढाएको छ । निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार भक्तपुर, कीर्तिपुर, मध्यपुर थिमि, कपन, जोरपाटी, पेप्सीकोला क्षेत्रमा वितरण सञ्जाल विस्तार गरिँदैछ । “यी पाँचवटा क्षेत्रमा वितरण सञ्जाल विस्तारका लागि बोलपत्र (टेण्डर) आह्वान भइसकेको छ,” इन्जिनियर श्रेष्ठले भने, “अब चाँडै ठेक्का सम्झौता भएर काम सुरु हुनेछ ।”

मेलम्चीको पानीलाई काठमाडौँका विभिन्न कुनासम्म पुर्‍याउन निर्देशनालयले कामको गति बढाएको छ । अहिले विभिन्न स्थानमा पानी भण्डारणका लागि ‘रिजर्भ’ ट्याङ्की निर्माण र पाइप बिछ्याउने काम भइरहेको छ । कामलाई समयमै सक्नका लागि मजदुर र प्राविधिकहरूले दिन र रात दुवै सिफ्टमा काम गरिरहेको पीआईडीले जनाएको छ ।

अहिले बिछ्याइएका नयाँ पाइपहरूको सफल परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई हस्तान्तरण गरिनेछ । “सिस्टम हस्तान्तरण भएपछि काठमाडौँवासीका घर-घरमा नियमित रूपमा मेलम्चीको पानी वितरण हुनेछ,” श्रेष्ठले भने । ठूलो व्यासको पाइप प्रयोग गरिएकाले सुन्दरीजलबाट वितरण केन्द्रसम्म पानीको बहाव उच्च हुने र वितरणमा सहजता आउने प्राविधिकहरूको भनाइ छ ।