पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि थुनामा

काठमाडौँ, ३ असार । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार र आर्थिक अनियमितताको मुद्दामा विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले मङ्गलबार गौतमलाई कारागार चलान गर्न आदेश दिएको हो ।

गौतममाथि आफ्नो कार्यकालमा पोखरा विमानस्थल निर्माण आयोजनामा पदको दुरुपयोग गरी करोडौँ रकम हिनामिना गरेको गम्भीर अभियोग लागेको छ । आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीसँग मिलेर गौतमले इपिसी कन्स्ट्रयाक्ट सम्झौताअनुसार २८ लाख अमेरिकी डलर खर्च नगरी बचाउनुपर्नेमा उल्टै अस्वाभाविक रूपमा लागत बढाएको भेटिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानअनुसार गौतमको निर्णयका कारण प्राधिकरणलाई थप ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँ आर्थिक नोक्सानी पुगेको छ ।

विशेष अदालतले प्रमाणको प्रारम्भिक परीक्षण गर्दा प्रतिवादी गौतमलाई थुनामै राखेर मुद्दाको किनारा लगाउनु उपयुक्त देखिने ठहर गरेको छ । आदेशमा भनिएको छ, “प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि निज प्रतिवादी सञ्जीव गौतमलाई थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू ।”

पोखरा विमानस्थल निर्माणमा भएको अनियमिततालाई लिएर अख्तियारले केही समयअघि क्यानका उच्च अधिकारीहरूसहित चिनियाँ ठेकेदार कम्पनीविरुद्ध समेत मुद्दा दायर गरेको थियो ।

विमानस्थल उद्घाटन भएको लामो समयसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको र ऋणको भार मात्रै बढेको भन्दै यो आयोजना सुरुदेखि नै विवादमा रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *