दाङमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक घाइते

काठमाडौँ, चैत १३ । दाङको घोराहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१० सौडिकुलामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही उपमहानगरपालिका–१२ निवासी ३० वर्षीय बेलबहादुर पुनको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका पुनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्ती गम्भीर घाइते हुनुभएको छ । उहाँको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।