आजदेखि देशका विभिन्न भागमा वर्षा र हुरीबतासको सम्भावना

काठमाडौँ, चैत १३ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज (शुक्रबार) देखि मुलुकका धेरैजसो स्थानमा पुनः मौसम बदली भई वर्षा, हुरीबतास, चट्याङ र असिना पर्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार मौसममा उल्लेख्य फेरबदल भई वर्षा हुने भएकाले आवश्यक पूर्वसावधानी अपनाउन अनुरोध गरिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले बिहीबार साँझदेखि नै बदली सुरु भएको र शुक्रबारबाट विभिन्न स्थानमा वर्षा हुने जानकारी दिनुभयो ।

यसअघि बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ र नुवाकोट लगायतका जिल्लाहरूमा हल्का वर्षा भइसकेको छ । आज रातिदेखि यो क्रम थप विस्तार हुने विभागको प्रक्षेपण छ ।

शुक्रबारको पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

शनिबारको पूर्वानुमान
शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम साधारणतया बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हुरीबतास, असिनापानी र चट्याङले जनजीवनमा असर पार्न सक्ने भएकाले सुरक्षित रहन विभागले सर्वसाधारणमा विशेष अपिल गरेको छ ।