बालेन सरकारसँग गगन कांग्रेस गरुड देख्दा सर्प लठ्ठिए जस्तो देखियो, पूर्णबहादुर कांग्रेसको यस्तो छ बोल्ड निर्णय

काठमाडौं, १४ चैत । पुर्णबहादुर खड्का कार्यबाहक सभापति रहेको देउवा समूह कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । सो समूहको बैठकले नेकपा (एमाले) का अध्यक्ष ओली र पार्टीका नेता लेखकमाथि सरकारले गरेको राजनीतिक प्रतिशोधको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

यता गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसले सरकार संयमित नभए देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जानसक्ने भन्दै सरकार उत्तेजनामा आउन नहुने बताएको छ । । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि शनिबार कांग्रेस प्रवक्ता देवराज चालिसेले पाँच बुँदे धारणा सार्वजनिक गर्दै यस्तो उल्लेख गर्नुभएको हो ।

देउवा समूहले दुई नेताको नाम नै उल्लेख गर्दै प्रतिवाद गर्ने निर्णय गर्दा गगन नेतृत्वको कांग्रेसलेचाँहि चाउचाउ जस्तो घुमौरो तर्क गर्दै उहाँहरुको नाम उल्लेख गर्न समेत कन्जुस्याईँ गरेको छ । ‘भदौ २३ र २४ का घटनाका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजन लगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ,’ वक्तव्यमा भनिएको, ‘हामी प्रष्ट गर्न चाहान्छौँ– भदौ २३ गतेको घटनामा संलग्न सँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ ।’

दुवै दिनको घटनामा संलग्न जो सुकै भएपनि कारबाही हुनुपर्ने र त्यसमा पार्टीको सहयोग रहने कांग्रेसको धारणा रहेको उल्लेख गरेको छ । उस्ले तर त्यो कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ भनेको छ । गगन कांग्रेसले सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानूनको शासन कमजोर हुनसक्ने र देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने भनेको छ ।