देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान कक्ष व्यवस्था गर्न सरकारको निर्देशन

काठमाडौँ, २८ चैत । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा आगामी २४ घण्टाभित्र अनिवार्य रूपमा स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार एक विशेष निर्देशन जारी गर्दै यात्रीहरूको सुविधा र स्वास्थ्यलाई प्राथमिकतामा राख्न यस्तो कदम चालेको हो ।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाद्वारा जारी निर्देशनमा विमानस्थलहरूमा सुरक्षित, गोप्य र व्यवस्थित स्तनपान कक्ष सञ्चालन गर्न भनिएको छ । साथै, बिरामी तथा विशेष आवश्यकता भएका यात्रीहरूको सहजताका लागि प्राथमिक हेरचाह कक्षको समेत व्यवस्था गर्न वा मौजुदा संरचनाको स्तरोन्नति गर्न निर्देशन दिइएको छ ।

सरसफाइमा अन्तर्राष्ट्रिय मापदण्ड अनिवार्य
विमानस्थलको आन्तरिक व्यवस्थापनलाई सुधार गर्न मन्त्रालयले सरसफाइमा समेत कडा मापदण्ड तोकेको छ । अबदेखि सबै विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) र विश्व स्वास्थ्य सङ्गठन (WHO) को मापदण्डअनुरूप हुनुपर्नेछ । सरसफाइको पारदर्शिताका लागि दैनिक ‘लगबुक’ प्रणाली अनिवार्य गर्न समेत मन्त्रालयले निर्देश गरेको छ ।

महिला यात्रीका लागि निःशुल्क स्यानिटरी प्याड
मन्त्रालयले लैंगिक संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थलका शौचालयहरूमा महिला यात्रीका लागि निःशुल्क ‘स्यानिटरी प्याड’ को व्यवस्था गर्न समेत निर्देशन दिएको छ । यी निर्देशनहरू कार्यान्वयन भए–नभएको बारे नियमित रिपोर्टिङ गर्न सम्बन्धित निकायलाई भनिएको छ ।

सरकारले दिएका यी निर्देशनहरू कार्यान्वयनमा आए/नआएको अनुगमन गर्न मन्त्रालयले आम नागरिक र यात्रीहरूलाई समेत आग्रह गरेको छ । निर्देशन पालना नभएमा मन्त्रालयका सूचना अधिकारीलाई जानकारी दिन सचिव निरौलाले अनुरोध गर्नुभएको छ ।