तनहुँमा ट्रकको ठक्करबाट गोरखाका एक वृद्धको मृत्यु

काठमाडौँ, बैशाख ४ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा बिहीबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा निवासी ६१ वर्षीय खुदबहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३-०१-००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा थापालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई बिहीबार साँझ ५:४८ बजे मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।