खुलेको २४ घण्टा नबित्दै इरानले फेरि बन्द गर्‍यो हर्मुज जलमार्ग: ट्रम्पद्वारा बमबारीको धम्की

एजेन्सी, ६ वैशाख । इरानले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुज जलडमरूमध्य) खोलेको घोषणा गरेको २४ घण्टा नबित्दै पुनः बन्द गरेको छ। शुक्रबार मात्रै युद्धविराम अवधिभरका लागि उक्त व्यस्त समुद्री मार्ग पूर्ण रूपमा खुला गर्ने बताएको इरानले अमेरिकाले आफ्नो प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै शनिबार पुनः प्रतिबन्ध लगाएको हो।

इरानका अनुसार अमेरिकासँगको वार्तापछि विश्वासको वातावरण बनाउन तेल र व्यापारिक सामग्री बोकेका जहाजहरूलाई आवतजावत गर्न दिइएको थियो। तर, अमेरिकाले नाकाबन्दीको बहानामा जहाजहरूमाथि थप कडाइ गरेपछि इरानले यसलाई युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन ठहर गरेको छ।

इरानले अब हर्मुज जलमार्ग भएर हुने सम्पूर्ण आवागमन आफ्नो सेनाको प्रत्यक्ष नियन्त्रणमा रहने स्पष्ट पारेको छ। “अमेरिकाले हाम्रा बन्दरगाहमाथि लगाएको नाकाबन्दी नहटाएसम्म कुनै पनि जहाजलाई हर्मुज पार गर्न दिइने छैन,” इरानी पक्षले चेतावनी दिएको छ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हर्मुजसम्बन्धी नाकाबन्दी हटाउन अस्वीकार गर्नुभएको छ। ट्रम्पले इरानसँग औपचारिक शान्ति सम्झौता नभएसम्म नाकाबन्दी जारी रहने अडान दोहोर्‍याउनुभएको छ। ट्रम्पको मुख्य सर्त इरानसँग रहेको ‘प्रशोधित युरेनियम’ अमेरिकाको नियन्त्रणमा सुम्पिनुपर्ने रहेको छ। उहाँले वार्तामार्फत युरेनियम प्राप्त नभए इरानमाथि पुनः भीषण बमबारी गर्ने धम्की समेत दिनुभएको छ।

युरेनियम हस्तान्तरणको विषयमा इरानले कडा प्रतिक्रिया दिएको छ। इरानले उक्त युरेनियम आफ्नो ‘माटो’ जस्तै पवित्र रहेको र यसलाई कुनै पनि हालतमा अर्को मुलुकलाई हस्तान्तरण नगर्ने अडान लिएको छ। युरेनियमको मुद्दा र हर्मुज जलमार्ग बन्द हुँदा विश्व ऊर्जा बजारमा पुनः अस्थिरता उत्पन्न हुने र इन्धनको मूल्य अझै बढ्ने जोखिम देखिएको छ।

४७ वर्षपछि भएको प्रत्यक्ष वार्ताले शान्तिको आशा जगाए पनि हर्मुज जलमार्ग पुनः बन्द हुनु र ट्रम्पको आक्रामक अभिव्यक्तिले मध्यपूर्वमा फेरि युद्धको बादल मडारिएको छ।