भारतको तमिलनाडुमा पटाका कारखानामा भीषण आगलागी: २० जनाको मृत्यु, ६ घाइते
चेन्नई, ६ वैशाख । भारतको दक्षिणी राज्य तमिलनाडुको एक पटाका कारखानामा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । विरुधुनगर जिल्लामा रहेको सो कारखानामा भएको आगलागीमा परी अन्य ६ जना गम्भीर घाइते भएका छन् ।
स्थानीय प्रहरी प्रमुख एन श्रीनाथले समाचार संस्था एएफपीलाई दिएको जानकारीअनुसार हालसम्म २० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन । उद्धारकर्मीहरूले घटनास्थलमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । यस्तै, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले पनि घटनालाई ‘अत्यन्तै पीडादायी’ भन्दै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत समवेदना व्यक्त गर्नुभएको छ ।
भारतमा औद्योगिक सुरक्षा नियमहरूको फितलो पालना र कमजोर कार्यान्वयनका कारण यस्ता घातक दुर्घटनाहरू पटक–पटक दोहोरिने गरेका छन् । विशेष गरी पटाका उद्योगहरूमा सुरक्षा सतर्कता नअपनाउँदा ठूलो मानवीय क्षति हुने गरेको छ ।
यसै हप्ता मात्र मध्य भारतको एक विद्युत् गृहमा भएको विस्फोटमा २० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यस्तै, गत महिना पश्चिम भारतमा रहेको अर्को पटाका कारखानामा भएको आगलागीमा १७ जनाले ज्यान गुमाएका थिए ।