‘कूटनीति र वार्ता राष्ट्रिय हितको रक्षाका लागि हुनुपर्छ’ : इरान
काठमाडौँ, वैशाख ९ । इरानले कूटनीतिलाई राष्ट्रिय हितको रक्षा गर्ने एउटा महत्वपूर्ण उपकरणका रूपमा चित्रण गर्दै आफ्नो देशको हितअनुरूपको अवस्थामा मात्र वार्ताको मार्ग अनुसरण गरिने स्पष्ट पारेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कूटनीति र वार्ता सधैँ राष्ट्रिय सुरक्षा र हितको पक्षमा हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले मध्यस्थताका लागि पाकिस्तानले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्दै इरानले गरेका पछिल्ला सैन्य गतिविधिहरू अमेरिका र इजरायली आक्रमणको प्रतिवादमा गरिएको आत्मरक्षाको कदम भएको दाबी गर्नुभयो ।
प्रवक्ता बघाईले इरानले आफ्नो राष्ट्रिय सुरक्षाका लागि युद्धक्षेत्र र विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “इरानले आफ्नो वैधानिक अधिकारको रक्षा गर्नेछ, आक्रमणका लागि जिम्मेवार पक्षलाई कानुनी रूपमा जवाफदेही बनाउनेछ र युद्धका कारण भएको क्षतिको क्षतिपूर्तिसमेत माग गर्नेछ ।”
इरानी व्यापारिक जहाजहरूमाथि भएका आक्रमण र तिनलाई जफत गर्ने कार्यले कूटनीतिक संलग्नता देखाउने मुलुकहरूको जिम्मेवार व्यवहारलाई नदर्शाउने उहाँले टिप्पणी गर्नुभयो । पाकिस्तानको इस्लामावादमा हुने भनिएको दोस्रो चरणको वार्तामा सहभागी हुने विषयमा इरानले तत्काल कुनै औपचारिक निर्णय नगरेको र यस्तो निर्णय राष्ट्रिय हितको सुनिश्चितताका आधारमा मात्र लिइने प्रवक्ता बघाईले प्रष्ट पार्नुभयो ।
करिब ४० दिनको लडाइँपछि गत अप्रिल ८ तारिखदेखि युद्धरत पक्षहरूबीच युद्धविराम लागू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त युद्धविरामको अवधि थप हुन सक्ने सङ्केत दिनुभएको छ ।
यसअघि पाकिस्तानले तेहरान र वासिङ्टनबीच अप्रत्यक्ष वार्ताका लागि मध्यस्थता गरेको थियो, जसको पहिलो चरण अप्रिल ११ र १२ मा इस्लामावादमा सम्पन्न भएको थियो । इरानको तस्निम न्यूज एजेन्सीका अनुसार अमेरिका र इरानबीचको दोस्रो चरणको वार्तामा सहभागी हुने तेहरानको निर्णय भने ‘निश्चित’ भइसकेको उल्लेख गरिएको छ ।