उपत्यकामा एकैदिन २,७४६ सवारी चालक कारबाहीमा, झन्डै ३० लाख राजस्व सङ्कलन

काठमाडौं, १५ वैशाख । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ७ सय ४६ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार, एकैदिन भएको यस कारबाहीबाट २९ लाख ६४ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

प्रहरीको तथ्याङ्कअनुसार कारबाहीमा पर्नेहरूमध्ये लेन अनुशासन मिच्ने र राइड सेयरिङको नियम उल्लङ्घन गर्नेको सङ्ख्या उच्च छ। कारबाहीको विस्तृत विवरण यसप्रकार छ: लेन अनुशासन मिच्ने: ३२४ जना, राइड सेयरिङ नियम उल्लङ्घन: २२५ जना, रातो बत्ती (रेड लाइट) क्रस गर्ने: १७५ जना, सडकको फुटपाथमा सवारी राख्ने/चलाउने: १४९ जना, तीव्र गति (ओभर स्पिड): १४८ जना, मादक पदार्थ सेवन (मापसे): ७९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने: ५५ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने: ५४ जना, अन्य (विविध ट्रफिक नियम उल्लङ्घन): १,५३७ जना रहेका छन् ।

ट्राफिक प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी र दण्डनीय अपराध भएको भन्दै त्यसो नगर्न सचेत गराएको छ।

कुनै सार्वजनिक वा निजी सवारीसाधनका चालकले नसालु पदार्थ सेवन गरेको शङ्का लागेमा तत्काल नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। यसका लागि ट्राफिक कन्ट्रोलको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेर उजुरी गर्न सकिने प्रहरीले जनाएको छ।