झापामा स्कुल बस दुर्घटना हुँदा १३ विद्यार्थी घाइते, चालक फरार

झापा, १७ वैशाख । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको स्कुल बसले मोटरसाइकललाई ठक्कर दिएर पल्टिँदा १३ जना विद्यार्थी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार, दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको विद्यापानी माध्यमिक विद्यालयको प्रदेश १–०१–००१ ख ४४८२ नम्बरको बसले प्रदेश १–०१–०१३ प ३४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस सडकमा पल्टिएको हो।

दुर्घटनाको समयमा बसमा १८ जना विद्यार्थी सवार रहेकोमा १३ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जना विद्यार्थीलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको छ। बाँकी सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यसैगरी, बसको ठक्करबाट मोटरसाइकल चालक कचनकबल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिना पनि घाइते भएका छन्। उनको मुख, टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै बसका चालक फरार भएका छन्। फरार चालकको खोजी भइरहेको र घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।