रसुवागढी नाकामा मानसरोवर जाने तीर्थयात्रीको चाप, साढे १७ हजार यात्रु चीनतर्फ प्रस्थान

रसुवा, १ असार । नेपाल-चीन सीमानाका रसुवागढी भएर तिब्बतको मानसरोवर र कैलास पर्वत जाने तीर्थयात्रीहरूको चाप उल्लेख्य रूपमा बढेको छ। यो नाका छोटो, सहज र सुविधाजनक भएकाले नेपालीका साथै विदेशी नागरिकहरूको समेत यस मार्गमा भीडभाड हुन थालेको हो।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ सम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। प्रस्थान गर्नेहरूमा नेपाल, भारत, अमेरिका, रुस, अष्ट्रेलिया, भुटान, संयुक्त अधिराज्य (युके), मलेसिया र जर्मनीका नागरिक रहेका छन्। यी यात्रुहरूमध्ये अधिकांश मानसरोवर र कैलास दर्शनका लागि गएका हुन्। यसै अवधिमा भिसा दर्ता तथा सेवा शुल्क बापत कार्यालयले ६२ लाख ८० हजार ४२० रुपैयाँ ८६ पैसा राजस्व सङ्कलन गरेको छ।

यात्रुहरूले काठमाडौँबाट रसुवागढीसम्मको १० घण्टाको सडक यात्राका अतिरिक्त हेलिकोप्टर सेवासमेत प्रयोग गर्ने गरेका छन्। काठमाडौँबाट टिमुरेको घट्टेखोला हेलिप्याडसम्म हेलिकोप्टरमार्फत करिब आधा घण्टामै पुगिने टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङ्दी तामाङले जानकारी दिनुभयो।

यात्रुको चाप बढेसँगै अध्यागमन कार्यालयमा जनशक्ति अभावले गर्दा सेवा प्रवाहमा केही कठिनाइ देखिएको छ। हाल दुईवटा डेस्कबाट मात्र अनुमति र अभिलेख दर्ताको काम भइरहेकाले यात्रुहरू लामो समयसम्म लाइनमा बस्न बाध्य छन्। कार्यालय प्रमुख भण्डारीका अनुसार हाल भाडाको घरबाट सेवा दिनुपरेकाले स्थान अभाव रहेको र टिमुरेमा निर्माणाधीन एकीकृत भन्सार तथा सीमा व्यवस्थापन भवन सम्पन्न भएपछि सेवा थप व्यवस्थित र प्रभावकारी हुनेछ।

यसैबीच, अध्यागमन कार्यालय नजिकै यात्रुहरू लाइन लाग्ने सडक किनारमा चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधन (ईभी) अव्यवस्थित रूपमा पार्किङ गर्दा भिडभाड हुने गरेको भन्दै स्थानीयले व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग माग गरेका छन्। अर्कातर्फ, तीर्थयात्रीको सङ्ख्या बढेसँगै स्याफ्रुबेँसी, टिमुरे र घट्टेखोला क्षेत्रका होटल, यातायात र स्थानीय व्यापार-व्यवसाय भने निकै चलायमान बनेको स्थानीय व्यवसायीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *