आईसीसी लिग–२: आसिफको ९४ र आरिफको विस्फोटक ब्याटिङमा नेपालद्वारा ओमानसामु २५७ रनको विशाल लक्ष्य प्रस्तुत
काठमाडौँ, २२ वैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानसामु जितका लागि २५७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २५६ रनको योगफल तयार पारेको हो।
नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याउन ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरे। आसिफले संयमित ब्याटिङ गर्दै ९४ रनको सानदार अर्धशतकीय पारी खेले पनि शतक बनाउन भने चुके।
त्यसैगरी, इनिङ्सको अन्त्यतिर आक्रामक ब्याटिङ गरेका आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै टोलीको स्कोर २५० पार गराएका थिए। उनले मात्र २४ बलको सामना गर्दै ४३ रनको विस्फोटक पारी खेले।
ओपनिङमा आएका अर्जुन कुमालले ४८ रन जोड्दै आसिफलाई राम्रो साथ दिएका थिए। अन्य ब्याटरहरूमा दीपेन्द्रसिंह ऐरीले ३३, गुल्सन झाले १७ र कप्तान रोहितकुमार पौडेलले ९ रनको योगदान दिए। बलिङ अलराउन्डर नन्दन यादवले २ रन जोड्दा सन्दीप लामिछाने १ रनमै रनआउट हुन पुगे। अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारी र करण केसी भने खाता नै नखोली पेभिलियन फर्किएका थिए।
बलिङतर्फ ओमानका लागि नदीम खानले सर्वाधिक ३ विकेट लिए। त्यसैगरी, शकिल अहमद र हशैन शाहले समान २–२ विकेट तथा जितेन रमानन्दी र आर्यन बिष्टले १–१ विकेट हात पारे।
२५७ रनको लक्ष्य पछ्याउँदै ओमानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। यसअघि जारी शृङ्खलाको पहिलो भेटमा नेपाल ओमानसँग १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो। आजको खेल जित्दै नेपाल उक्त हारको बदला लिने दाउमा छ।