सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ, २३ वैशाख । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) को कसुरमा पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले विभागलाई म्याद थपको अनुमति दिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समन्वयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलाई गत चैत १९ गते काठमाडौँबाट पक्राउ गरेको थियो। त्यसलगत्तै चैत २२ गते शङ्कर ग्रुपका सञ्चालकसमेत रहेका सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो।
अदालतको पछिल्लो आदेशसँगै सुलभ अग्रवालको हकमा छैटौँ पटक र व्यवसायी दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप भएको छ। उनीहरूमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको गम्भीर आरोपमा अनुसन्धान भइरहेको छ।