राधास्वामी आश्रममा आश्रित मोतीविन्दुका बिरामीको तत्काल शल्यक्रिया गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन
काठमाडौँ, वैशाख २३ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कीर्तिपुरस्थित राधास्वामी आश्रममा बसोबास गरिरहेका मोतीविन्दुका बिरामीहरूको तत्काल शल्यक्रिया गर्न निर्देशन दिनुभएको छ । महानगरपालिकाको स्वास्थ्य विभागलाई निर्देशन दिँदै उहाँले वैशाख २० गते सञ्चालित आँखा शिविरमा पहिचान भएका ४ जना बिरामीको शल्यक्रिया प्रक्रिया अगाडि बढाउन भन्नुभएको हो ।
काठमाडौँका विभिन्न नदी किनारका अव्यवस्थित बस्ती खाली गराउने क्रममा विस्थापित भएका र आफूलाई भूमिहीन भनेर लगत बुझाएका परिवारहरूलाई हाल सो आश्रममा अस्थायी रूपमा राखिएको छ । थापाथली, गैरीगाउँ र मनोहरालगायतका क्षेत्रबाट स्थानान्तरण भएका व्यक्तिहरूको अवस्था बुझ्न महानगरका प्रवक्ता नवीन मानन्धरसहित आश्रम पुग्नुभएकी कार्यवाहक प्रमुख डंगोलसँग त्यहाँ रहेका ज्येष्ठ नागरिकहरूले आँखा धमिलो देख्ने समस्या रहेको भन्दै उपचारको माग गरेका थिए ।
आश्रित व्यक्तिहरूको सोही मागलाई तत्काल सम्बोधन गर्दै कार्यवाहक प्रमुखले स्वास्थ्य विभागलाई आँखा परीक्षणको प्रबन्ध मिलाउन निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा महानगरपालिकाको स्वास्थ्य विभागले नेपाल आँखा अस्पतालसँगको प्राविधिक सहकार्यमा वैशाख २० गते आइतबार आश्रममै विशेष आँखा जाँच तथा उपचार शिविर आयोजना गरेको थियो ।
स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.सी.का अनुसार उक्त शिविरमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका व्यक्तिहरूको आँखा परीक्षण गरिएको थियो । अस्पतालका सामुदायिक कार्यक्रम संयोजक राम के.सी.ले दिएको जानकारीअनुसार परीक्षण गरिएकामध्ये ४ जनामा मोतीविन्दु देखिएकाले तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था छ । यस्तै, ११ जनालाई नजिकको अक्षर पढ्न चस्मा आवश्यक पर्ने र धेरैजसोमा आँखा सुक्खा हुने (Dry Eye) समस्या देखिएको अस्पतालले जनाएको छ ।
महानगरपालिकाले ती बिरामीहरूको उपचार र शल्यक्रियाको सम्पूर्ण व्यवस्था मिलाउने प्रतिबद्धता समेत जनाएको छ ।