विपद् प्राधिकरणको क्यान्टिनमा म्याद नाघेको दही फेला : सञ्चालकलाई २ लाख ५ हजार रुपियाँ जरिवाना
काठमाडौँ, वैशाख २३ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेना गृह (क्यान्टिन) मा म्याद गुज्रिएको खाद्यवस्तु बिक्री वितरण भएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । आइतबार गरिएको बजार अनुगमनका क्रममा उक्त क्यान्टिनमा म्याद नाघेको दही फेला परेपछि विभागले दुई लाख पाँच हजार रुपियाँ जरिवाना गरेको हो ।
विभागको टोलीले गरेको आकस्मिक निरीक्षणका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी म्याद नाघेका सामग्री राखेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्कालै जरिवाना गरिएको विभागले जनाएको छ ।
यसैगरी, अनुगमन टोलीले म्याद नाघेको उक्त दहीको उत्पादक ‘श्रीकृष्ण डेरी फर्म’लाई पनि अनुसन्धानको दायरामा ल्याएको छ । विभागले सो डेरीलाई व्यवसाय दर्ता प्रमाणपत्र तथा दही बिक्री गरेको बिलसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । सरकारी निकायभित्रै सञ्चालित चमेना गृहमा यस प्रकारको लापर्बाही भेटिएपछि विभागले अनुगमनमा थप कडाइ गर्ने संकेत गरेको छ ।