एसियाली खेलकुद छनोट र प्रिमियर कपका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा
काठमाडौँ, वैशाख २३ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी एसियाली खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले आइतबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोलीको नामावली सार्वजनिक गरेको हो ।
घोषित टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ। टोलीका अन्य सदस्यहरूमा विन्दु रावल, सम्झना खड्का, रुवी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सीता राना मगर, अनु कडायत, मनीषा उपाध्याय, रुविना क्षेत्री, सोनी पाख्रिन र सीमा केसी रहेका छन् ।
यसैगरी, क्यानले चार जना खेलाडीलाई वैकल्पिक सूचीमा राखेको छ। जसमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउद रहेका छन् ।
नेपाली टोलीले मलेसियामा आयोजना हुने दुई महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउनेछ। तालिकाअनुसार मे २३ देखि ३१ सम्म एसियाली खेलकुद छनोट प्रतियोगिता सञ्चालन हुनेछ भने जुन १ देखि १३ सम्म एसिसी महिला प्रिमियर कप आयोजना हुनेछ। यी प्रतियोगिताहरूका लागि नेपाली टोलीले चाँडै नै तयारी सुरु गर्ने क्यानले जनाएको छ ।