नेप्सेमा सामान्य सुधार, तर कारोबार रकम खुम्चिएर ३ अर्बभन्दा तल
काठमाडौं, २४ बैशाख । अघिल्लो कारोबार दिन (बुधबार) सामान्य अङ्कले घटेको शेयर बजार बिहीबार भने सामान्य अङ्कले बढेर बन्द भएको छ। यद्यपि, बजारको परिसूचक उकालो लागे पनि कारोबार रकममा भने गिरावट आएको छ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.९४ अङ्कले बढेर २७१८.१६ विन्दुमा पुगेको छ। समग्र बजारको मापन गर्ने नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९५ अङ्कले, फ्लोट इन्डेक्स ०.३० अङ्कले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अङ्कले बढेको छ।
सूचक सकारात्मक रहे पनि बिहीबार कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा तल झरेको छ। बुधबार ३ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको मात्र कारोबार भयो।
दिनभरिमा ३३४ वटा कम्पनीका ६६ लाख ८४ हजार कित्ता शेयर ४५ हजार ६५ पटक किनबेच भएका छन्।
यस दिन स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको शेयरमूल्य १२.१९ प्रतिशतले वृद्धि भएको छ। नाफा कमाउने अन्य कम्पनीहरूको शेयरमूल्य वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम छ।
उता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने सर्वाधिक १३.२४ प्रतिशतको भारी गिरावट आएको छ। त्यस्तै, अप्पर लोहोरे खोला जलविद्युत कम्पनीका लगानीकर्ताले पनि ९ प्रतिशतभन्दा बढी गुमाएका छन्।
कारोबार रकमका आधारमा बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको १७ करोड ६८ लाख ३३ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो।
त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको करिब साढे १४ करोड र नेशनल हाइड्रोपावरको १४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये बिहीबार ८ वटाको सूचक बढेको छ भने ५ वटाको घटेको छ। व्यापार (ट्रेडिङ) उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशतले बढेको छ।
यसविपरीत वित्त (फाइनान्स), लगानी (इन्भेष्टमेन्ट), उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक भने सामान्य अङ्कले ओरालो लागेका छन्।