प्रधानन्यायाधीश सिफारिसमा विधि र परम्परा मिचियो, परिणाम सरकारले भोग्छ : पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौँ, २४ वैशाख । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानन्यायाधीश नियुक्तिमा वरीयता र विधिको गम्भीर उल्लंघन भएको भन्दै आपत्ति जनाउनुभएको छ । संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपछि कार्कीले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
उहाँले राज्यका निकायहरूको आफ्नै गरिमा र पद्धति हुने उल्लेख गर्दै न्यायाधीशको नियुक्ति योग्यता र वरिष्ठताका आधारमा हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी संगठनको उदाहरण दिँदै उहाँले भन्नुभयो, “जसरी अन्य निकायमा बढुवाको निश्चित पद्धति हुन्छ, न्यायलयमा पनि त्यस्तै हुनुपर्छ । बीचमा कसैलाई ड्रप गर्नका लागि ठोस अयोग्यता हुनुपर्छ, जुन सपनाजीको हकमा देखिँदैन ।”
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो, जसको अहिले न्यायिक र राजनीतिक वृत्तमा चर्चा तथा आलोचना भइरहेको छ ।