मातृभाषा संरक्षणको सुरुवात घरैबाट गरौँ : कार्यवाहक मेयर डंगोल

काठमाडौं, २४ बैशाख । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख (मेयर) सुनिता डंगोलले भाषा संरक्षणको सबैभन्दा बलियो आधार घर नै भएको भन्दै मातृभाषाको व्यावहारिक प्रयोग दैनिक जीवनबाटै सुरु गर्न आह्वान गर्नुभएको छ।

‘भाषा दिवस’ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले परिवारका अग्रजहरूले आफ्ना सन्ततिलाई मातृभाषा सिकाउनु अमूल्य सम्पत्ति हस्तान्तरण गर्नु सरह भएको बताउनुभयो।

महानगरपालिकाले स्थानीय भाषा र लिपिको संरक्षणमा गरिरहेका प्रयासबारे जानकारी दिँदै कार्यवाहक प्रमुख डंगोलले काठमाडौं महानगरभित्रका विद्यालयहरूमा स्थानीय पाठ्यक्रममार्फत ‘नेपाल भाषा’ र ‘तामाङ भाषा’ को पठनपाठन भइरहेको उल्लेख गर्नुभयो। साथै, महानगरका कार्यालयबाट जारी हुने चिठीपत्र, सूचना, दस्तावेज तथा अभिलेखमा ‘नेपाल संवत्’ को प्रयोगलाई अनिवार्य गरिएको र स्थानीय लिपिलाई संकेत चिह्न (साइनबोर्ड) मा प्रयोग गर्दै आइएको उहाँले जानकारी दिनुभयो।

भाषा केवल संवादको माध्यम मात्र नभई सभ्यता, संस्कृति र मौलिक पहिचानको आधारस्तम्भ भएको डंगोलको भनाइ छ। बागमती प्रदेश सरकारले ‘नेपाल भाषा’ र ‘तामाङ भाषा’ लाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको सन्दर्भलाई ‘ऐतिहासिक कदम’ भन्दै उहाँले यसले नेपालको बहुभाषिक तथा बहुसांस्कृतिक गरिमालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ। यो ऐतिहासिक सुरुवातले संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई अझ सुदृढ बनाउने उहाँको दाबी छ।

“पुस्तौंदेखि सञ्चित ज्ञान, सीप र अनुभवलाई जीवित राख्ने मातृभाषाले लोककथा, गीत, चाडपर्व र संस्कारलाई संरक्षण गर्छन्,” सन्देशमा भनिएको छ, “हाम्रा शिलालेख, ताम्रपत्र र ऐतिहासिक दस्तावेजहरू पनि यिनै भाषामा सुरक्षित छन्। त्यसैले भाषा केवल अभिव्यक्तिको माध्यम होइन, हाम्रो अभिलेखीय सम्पदा पनि हो।”

सरकारी सेवा प्रवाह, सूचना पाटी, लिखत र जनसम्पर्कका क्षेत्रमा स्थानीय भाषाको प्रयोग बढाउँदै लैजानुपर्नेमा जोड दिँदै कार्यवाहक मेयर डंगोलले यस अभियानलाई अझ व्यापक बनाउन सम्पूर्ण नगरवासी, प्रदेशवासी तथा भाषाप्रेमीहरूमा अनुरोध गर्नुभएको छ।