कीर्तिपुर हत्या प्रकरण: तीन जना पक्राउ, सात दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ, २४ वैशाख । कीर्तिपुर नगरपालिका–१० स्थित पोडेटोलमा भएको युवकको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गुल्मी घर भएका २२ वर्षीय विपिन घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका–४ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुर पाँगा बस्ने २३ वर्षीय रवीन्द्र धामी र कैलालीकै घोडाघोडी घर भई कीर्तिपुर–८ सिनेमा हल क्षेत्रमा बस्ने २२ वर्षीय रोशन बिष्ट रहेका छन्।
गत बुधबार चिया सागर नजिकै घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनालगत्तै प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार, पक्राउ परेका तीनै जनामाथि ‘कर्तव्य ज्यान’ मुद्दामा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई आजै अदालतमा पेस गरिएकोमा थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएको छ।
प्रहरीले घटनाको कारण र संलग्नताका अन्य पक्षबारे गम्भीरतापूर्वक छानबिन भइरहेको जनाएको छ।