ढोरपाटनमा यस याममा १३ नाउर र ६ झारलको सिकार, क-कस्ले पाएका थिए अनुमति ?

काठमाडौँ, २५ वैशाख । नेपालको एक मात्र सिकार गन्तव्य ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो याम (चैत–वैशाख) मा १३ वटा नाउर र ६ वटा झारलको सिकार गरिएको छ । विदेशी पेसेवर सिकारीहरूका लागि प्रख्यात यस आरक्षमा कानुनी अनुमति लिएर तोकिएको क्षेत्र र समयमा वन्यजन्तुको सिकार गर्ने गरिन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १४ नाउर, १० झारल र १३ बँदेलको सिकार गर्न कोटा निर्धारण गरेको थियो । जसमध्ये अनुमति लिएका १ नाउर, ४ झारल र १३ वटै बँदेलको भने सिकार हुन नसकेको आरक्ष कार्यालयले जनाएको छ ।

यस सिजनमा आरक्षको सुनदह ब्लकमा २ नाउर र २ झारल, सेङमा २ नाउर, दोगाडीमा ५ नाउर, बार्सेमा १ नाउर, फागुनेमा १ नाउर र १ झारल तथा घुस्तुङ ब्लकमा २ नाउर र ३ झारलको सिकार गरिएको छ ।

बोलपत्र (टेन्डर) बढाबढका आधारमा सबैभन्दा बढी मूल्य तिर्न तयार हुने कम्पनीलाई सिकारको अनुमति दिइन्छ । विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार प्रतिस्पर्धामा एउटै नाउरको सिकार गर्न अधिकतम २३ लाख र झारलको १८ लाख रुपैयाँसम्म बोलकबोल हुने गरेको छ ।

सिकार खेलाउने एजेन्सीहरूले प्रतिविदेशी सिकारीबाट ३० देखि ३५ हजार अमेरिकी डलर (करिब ४० देखि ४६ लाख रुपैयाँ) सम्म शुल्क लिने गरेका छन् । आरक्षका रेन्जर सागरप्रसाद सुवेदीका अनुसार सिकारमार्फत आरक्षले वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ । प्राप्त तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा आरक्षले करिब पौने ३ करोडदेखि सवा ४ करोड रुपैयाँसम्म वार्षिक राजस्व आम्दानी गर्ने गरेको छ ।

विभागका अनुसार जथाभावी सिकार गर्न पाइँदैन । आरक्षमा जन्यजन्तुको वैज्ञानिक गणनापछि निश्चित सङ्ख्या निर्धारण गरिन्छ । टेलिस्कोपबाट हेरेर १२ वर्षभन्दा माथिका बुढा भालेको मात्र पहिचान गरी सिकार गर्न दिइन्छ । “यसरी सिकार गर्न दिँदा जनावर सखाप हुने जोखिम रहँदैन, बरु सङ्ख्या अत्यधिक बढेर बासस्थान र बालीनालीमा हुने क्षति कम हुन्छ,” वरिष्ठ इकोलोजिष्ट आचार्यले भने ।

सिकारका लागि सिकारीलाई २१ दिनको समय दिइन्छ । उनीहरूले आफ्नै देशबाट अनुमतिप्राप्त बन्दुक र गोली ल्याउँछन् । जङ्गलमा एक जना सिकारीको साथमा २५ देखि ३० जनाको सहयोगी टोली खटिन्छ । सिकार गरेपछि वन्यजन्तुको सिङ, छाला र खुर (आखेटोपहार) सिकारीले कानुनी रूपमै आफ्नो देश लैजान पाउँछन् भने मासु जङ्गलमै समूहमै खाएर अन्य फोहोर गाड्ने गरिन्छ । औसतमा एउटा नाउरको तौल ७० किलोभन्दा बढी हुन्छ ।

यस याममा अमेरिका, फ्रान्स, स्पेन, रुस, जर्मनी, बेल्जियम र डेनमार्कका नागरिक सिकार खेल्न ढोरपाटन पुगेका थिए । उनीहरूलाई नेपाल ट्राभल एक्सपिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्डलाइफ आउटफिटर्स, ओपन नेपाल वाइल्डलाइफ सफारी, ग्लोबल सफारिज नेपाल र ट्राक्स एन्ड ट्रेल्सलगायतका ६ कम्पनीले सिकार खेलाएका हुन् ।

अनुमति लिएर पनि बँदेलको सिकार नहुनुमा विदेशीहरूको अरुचि मुख्य कारण रहेको हिमालयन सफारिजका सञ्चालक महेश बस्नेत बताउँछन् । “नाउर र झारलको अनुपातमा बँदेलको अनुमति लिनैपर्ने कानुनी प्रावधान छ, तर सहजै भेटिए मात्र उनीहरू बँदेलको सिकार गर्छन्,” बस्नेतले भने ।

विसं २०४४ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष रुकुम पूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । १ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यहाँ ३२ प्रजातिका स्तनधारी र डाँफे, मुनाललगायत १६४ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । सन् २०२१ को गणनाअनुसार यहाँ १ हजार २९० नाउर र ७४४ झारल रहेका छन् । पछिल्लो समय चोरी सिकारी नियन्त्रण भएकाले वन्यजन्तुको सङ्ख्या बढिरहेको व्यवसायीहरू बताउँछन् ।