रञ्जना लिपिमार्फत सांस्कृतिक पुनर्जागरण : झोँछेको मौलिकता फर्काउँदै कार्यवाहक प्रमुख डङ्गोल
काठमाडौँ, बैशाख २६ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँको ऐतिहासिक पहिचान र रञ्जना लिपिको संरक्षण नै महानगरको वास्तविक सांस्कृतिक पुनस्र्थापना भएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं. २३ (झोँछे क्षेत्र) मा सुरु गरिएको ‘रञ्जना लिपिसहितको परिचय पाटी’ जडान कार्यको स्थलगत निरीक्षण गर्दै उहाँले मौलिकताको संरक्षणले नै सहरको सौन्दर्य र पर्यटनलाई मजबुत बनाउने उल्लेख गर्नुभयो ।
वडा नं. २३ ले वडाभित्रका व्यवसायको परिचय पाटीलाई रञ्जना लिपिमा अनिवार्य गरी सहरको मौलिक स्वरूप फर्काउने अभियान थालेको हो । सोही अभियानअन्तर्गत व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने ५० जना करदातालाई पहिलो चरणमा उपहार स्वरूप रञ्जना लिपिसहितको ‘लाइटिङ बोर्ड’ प्रदान गरिएको छ ।
निरीक्षणका क्रममा कार्यवाहक प्रमुख डङ्गोलले झोँछे जस्तो ऐतिहासिक र पर्यटकीय क्षेत्रमा लिपि र कलाको पुनस्र्थापना हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो केवल बोर्ड फेर्ने काम मात्र होइन, यो हाम्रो हराउँदै गएको लिपिको पुनःस्थापना र नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने अभियान हो । यसले काठमाडौँको सांस्कृतिक गरिमालाई विश्व माझ अझ उकास्नेछ ।”
करदातालाई प्रोत्साहन र मौलिकताको मिलन
वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनका अनुसार यो कार्यक्रम लिपिको संरक्षणसँगै करदातालाई प्रोत्साहन गर्ने एउटा नयाँ मोडेल हो । “हामीले नियमित कर तिर्ने व्यवसायीलाई सम्मान स्वरूप यो मौलिक बोर्ड उपहार दिएका हौँ,” महर्जनले भन्नुभयो, “यसले व्यवसायको परिचय पाटीमा एकरूपता ल्याएको छ भने झोँछे क्षेत्रको दृश्यात्मक सुन्दरतालाई पनि बढाएको छ ।”
यो अभियानको पहिलो चरणमा जुद्ध शालिकदेखि वसन्तपुर र नौतले दरबारदेखि झोँछे हुँदै ओमवहालसम्मका व्यवसायी समेटिएका छन् । गोलाकार डिजाइनमा तयार पारिएको बोर्डको बिच भागमा रञ्जना लिपिलाई प्राथमिकता दिइएको छ भने माथि र तल अंग्रेजी र देवनागरिक लिपिको प्रयोग गरिएको छ । यस डिजाइनमा क्यालीजात्रा फाउन्डेसनले प्राविधिक सहयोग र झोँछे सामुदायिक समाजले समन्वय गरिरहेको छ ।
पर्यटन र सम्पदामा टेवा
स्थानीय सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले वडाको यो कदमले झोँछेको पुरानो पहिचानलाई पुनः जीवित गराएको बताउनुभयो । उहाँले काठमाडौँको भित्री सहरलाई चिनाउन यस्ता साना तर प्रभावकारी कामले पर्यटन व्यवस्थापनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वडाभित्र करिब ७ सय व्यवसायी रहेकोमा आगामी दिनमा दर्ता र नियमित कर तिर्ने सबैलाई चरणबद्ध रूपमा यस्तै मौलिक परिचय पाटी उपलब्ध गराउने वडाको योजना छ । कार्यवाहक प्रमुख डङ्गोलको यस सक्रियताले काठमाडौँका अन्य वडाहरूमा पनि आफ्नो मौलिक पहिचान जोगाउने अभियानका लागि प्रेरणा मिलेको छ ।