पढाइसँगै कमाइ : मङ्गला माविका विद्यार्थीको रहर लाग्दो कृषि कर्म
काठमाडौँ, बैशाख २६ । धेरैका लागि विद्यालय भनेको केवल कक्षाकोठा, पुस्तक र परीक्षा मात्र हो । तर, म्याग्दीको बाबियाचौरस्थित मङ्गला माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि विद्यालय ‘परिवर्तनको थलो’ र ‘कमाईको स्रोत’ दुवै बनेको छ । यहाँका विद्यार्थीहरूका हातमा हिजोआज कलम मात्र होइन, कुटो र कोदालो पनि उत्तिकै सुहाएको देखिन्छ ।
“सिक्दै र कमाउँदै” भन्ने उद्देश्यका साथ मङ्गला माविका विद्यार्थीहरूले शिक्षालाई उत्पादनसँग जोडेका छन् । विद्यालयमा प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरूले अहिले व्यावसायिक रूपमा तरकारी खेती गरेर सबैको ध्यान खिचेका छन् ।
किताबी ज्ञानदेखि माटोसम्मको यात्रा
विद्यार्थीहरूले केवल कक्षाकोठाको सैद्धान्तिक ज्ञानमा मात्र चित्त बुझाएका छैनन् । उनीहरूले दुई रोपनी जग्गा भाडामा लिएर प्रयोगात्मक अभ्यासका लागि मौसमअनुसारका तरकारीहरू फलाएका छन् । विद्यालयका कृषि प्राविधिक संयोजक करन कँडेलका अनुसार, विद्यार्थीहरूलाई दिगो र व्यवहारिक ज्ञान दिनका लागि यो अभियान सुरु गरिएको हो ।
“हामीले विद्यार्थीलाई केवल तरकारी रोप्न मात्र सिकाएका छैनौँ, त्यसको बजारीकरण र आर्थिक व्यवस्थापन पनि सिकाएका छौँ,” कँडेल भन्नुहुन्छ । विद्यार्थीहरूले उत्पादन गरेको ताजा तरकारी विद्यालयको चमेनागृह, छात्रावास र बाबियाचौर बजारसम्म पुग्ने गरेको छ ।
मौसमी आम्दानी र आत्मविश्वास
हिजोआज विद्यार्थीहरूको बारीमा हरियो जिरीको साग लहलहाइरहेको छ । यसबाहेक उनीहरूले जुकेनी फर्सी, गोलभेडा, तितेकरेला र खुर्सानीको पनि खेती गरेका छन् । नर्सरीमा बिरुवा उत्पादन गरेर बेच्नु उनीहरूको अर्को राम्रो आम्दानीको स्रोत हो । एकै सिजनमा विद्यार्थीहरूले ५० हजार रुपियाँसम्मको तरकारी उत्पादन गरेर देखाएका छन् ।
बागलुङबाट कृषि पढ्न मङ्गला मावि आएकी प्रतिज्ञा विक यसरी काम गर्न पाउँदा दंग छिन् । उनी भन्छिन्, “पढाइसँगै उत्पादनलाई बजारीकरण गर्न सिक्दा भविष्यमा स्वरोजगार र आत्मनिर्भर बन्न सकिने आत्मविश्वास बढेको छ ।” अर्की विद्यार्थी देविना पुनलाई पनि सैद्धान्तिक कुरालाई व्यवहारमा उतार्दा विषयवस्तु बुझ्न धेरै सजिलो भएको अनुभव छ ।
शिक्षालाई उत्पादनसँग जोड्ने प्रयास
विसं २०७६ देखि सुरु भएको कृषि विषयको पठनपाठनले अहिले सार्थक रूप लिँदैछ । हाल ५२ जना विद्यार्थी कृषि प्राविधिक विषय अध्ययन गरिरहेका छन् भने ५० जनाभन्दा बढीले १२ कक्षा उत्तीर्ण गरेर कार्यक्षेत्रमा होमिइसकेका छन् ।
प्रधानाध्यापक गमबहादुर खत्रीका अनुसार यहाँ बाबियाचौरका मात्र होइन, छिमेकी गाउँहरू अर्मन, कुहुँ, बरङ्जा र बेनी नगरपालिकाबाट समेत विद्यार्थीहरू कृषि पढ्न आउने गरेका छन् ।
प्रविधि र व्यावसायिकताको अभावमा युवाहरू विदेश पलायन भइरहेको समयमा मङ्गला माविका यी विद्यार्थीहरू एउटा उदाहरण हुन् । उनीहरूले प्रमाणित गरिदिएका छन् कि यदि शिक्षालाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्ने हो भने स्वदेशमै ‘सुन’ फलाउन सम्भव छ । यी कलिला हातहरूले उब्जाएको तरकारीले उनीहरूको गोजी मात्र भरिएको छैन, भविष्यको स्वरोजगारको जग पनि बसालेको छ ।