काठमाडौँमा आगामी आइतबार ‘गीतामैत्री मिलन’ कार्यक्रम आयोजना हुने
काठमाडौँ, वैशाख २६ । ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने मूल नाराका साथ आगामी आइतबार काठमाडौँमा ‘गीतामैत्री मिलन’ कार्यक्रम आयोजना गरिने भएको छ । नेपालको सांस्कृतिक इतिहासको संरक्षण गर्दै सुसंस्कृत र समुन्नत राष्ट्र निर्माण गर्ने उद्देश्यले गीता परिवार नेपालले यस कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रमको सुरुवात कमलादी गणेशस्थानबाट शोभायात्रासहित हुने र नेपाल प्रज्ञा प्रतिष्ठानमा मूल समारोह सञ्चालन गरिने संस्थाका सचिव रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । उक्त विशेष समारोहमा गीता परिवारका संस्थापक स्वामी गोविन्ददेव गिरीले श्रीमद्भगवद् गीता अध्ययनको महत्त्व, यसको साधना र व्यावहारिक प्रयोगका विषयमा विशेष प्रवचन दिनुहुनेछ ।
विसं २०७७ मङ्सिरमा स्थापित गीता परिवार नेपालले आफ्नो स्थापनाकालदेखि नै आध्यात्मिक र सामाजिक क्षेत्रमा सक्रियता देखाउँदै आएको छ । कोरोना महामारीको समयमा संस्थाले प्रभावित व्यक्तिहरूलाई उत्प्रेरणा दिनुका साथै भोजनका लागि आर्थिक सहयोग समेत उपलब्ध गराएको थियो ।
संस्थाले हाल ‘घरघरमा गीता हाम्रो अभियान’ अन्तर्गत बालबालिकामा नैतिक मूल्यको बिजारोपण गर्न ‘बाल संस्कार वर्ग’ सञ्चालन गर्दै आएको छ । यसका साथै अनलाइनमार्फत निःशुल्क गीताका श्लोकहरू सिकाउने र व्याकरणसहितको शुद्ध उच्चारणको अभ्यास गराउने कार्यलाई पनि संस्थाले निरन्तरता दिएको छ ।
गीता परिवारले भगवद्भक्ति, मातृभूमि, विज्ञाननिष्ठा र स्वामी विवेकानन्दको आदर्शलाई मुख्य सिद्धान्त मान्दै आएको छ । संस्थाकी अध्यक्ष सारिका अग्रवालका अनुसार हाल नेपालमा यस संस्थाका ५०० स्वयंसेवी र १५ हजार सदस्य आबद्ध छन् ।
विश्वव्यापी रूपमा समेत आफ्नो सञ्जाल विस्तार गरेको यस संस्थाले १४ भाषामार्फत करिब १४ लाखभन्दा बढी साधक तथा सेवाग्राहीलाई श्रीमद्भगवद् गीताको अध्ययन र साधना गराउँदै आएको छ । नेपालमा यस संस्थाले आध्यात्मिक जागरणका माध्यमबाट समाज सुधारको अभियानलाई अघि बढाइरहेको छ ।