झापामा रगतको माग उच्च : पाँच वर्षमा २९ रक्तदातामा एचआईभी संक्रमण पुष्टि
झापा, २६ वैशाख । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा रगतको माग बढ्दो छ। तर, रगत सङ्कलन र परीक्षणका क्रममा पछिल्लो पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला परेको डरलाग्दो तथ्य बाहिर आएको छ।
सुरक्षित रगत आपूर्तिका लागि रेडक्रसले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। केन्द्रमा सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरिङ्गी जस्ता सरुवा रोगको अनिवार्य प्रयोगशाला परीक्षण गरिन्छ। सोही परीक्षणका क्रममा ती रक्तदाताहरूमा संक्रमण देखिएको हो।
रक्तसञ्चार सेवा केन्द्र भद्रपुरका इञ्चार्ज शिशिर दाहालका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा एक जना र आव २०७९/८० मा दुई जनामा संक्रमण देखिएको थियो। त्यसपछिका वर्षहरूमा यो सङ्ख्या बढ्दै गएको छ। आव २०८०/८१ मा छ जना र आव २०८१/८२ मा सबैभन्दा बढी १४ जनामा एचआईभी पोजेटिभ भेटिएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म छ जनामा संक्रमण पुष्टि भइसकेको छ।
“परीक्षणका क्रममा एचआईभी पोजेटिभ देखिएका रक्तदाताहरूलाई गोपनीयता कायम राख्दै थप पुनर्पुष्टि, उपचार र परामर्शका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने गरेका छौँ,” इञ्चार्ज दाहालले भन्नुभयो।
झापाका अस्पतालहरूमा हरेक वर्ष १७ हजार युनिटभन्दा बढी रगतको माग हुने गरेको छ। जिल्लामा करिब पाँच हजार स्वयम्सेवी रक्तदाता भए पनि मागअनुसार आपूर्ति मिलाउन कठिन हुने गरेको छ। विशेषगरी क्यान्सर, मिर्गौला र एनिमियाका बिरामीको सङ्ख्या बढ्दै जाँदा रगतको खपत पनि बढेको छ।
हरेक वर्ष वर्षायाम र खेतीपातीको समयमा रक्तदानका कार्यक्रमहरू कम हुने हुँदा जिल्लामा रगतको अभाव हुने गरेको रेडक्रसले जनाएको छ। रगत दान गर्नुअघि र गरिसकेपछि गरिने कडा परीक्षणले बिरामीलाई सर्न सक्ने सम्भावित जोखिमबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको रेडक्रसको दाबी छ।