महानगरले घरदैलोमै फोहर छुट्याउन निर्देशन दिएसंगै बञ्चरेडाँडा पुग्ने फोहरको मात्रा घट्यो
काठमाडौँ, २६ वैशाख । काठमाडौँ महानगरपालिकाले सुरु गरेको ‘स्रोतमै फोहर वर्गीकरण’ अभियान प्रभावकारी बन्दै गएको छ । महानगरले घरदैलोमै फोहर छुट्याउने कार्यलाई प्राथमिकता दिएसँगै अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा लैजाने फोहरको परिमाणमा उल्लेख्य कमी आएको हो ।
महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार, वर्गीकरणअघि दैनिक औसत २० ट्रक फोहर बञ्चरेडाँडा लैजाने गरिएकोमा अहिले त्यो संख्या घटेर १५ ट्रकमा झरेको छ । विभागकी प्रमुख सरिता राईले बञ्चरेडाँडाको आयु बढाउन र फोहर व्यवस्थापनलाई दिगो बनाउन स्रोतमै वर्गीकरण गर्ने पद्धतिले ठूलो मद्दत पुर्याएको जानकारी दिनुभयो ।
“फोहरलाई स्रोतमै छुट्याउँदा सहरी सरसफाइ प्रभावकारी हुनुका साथै पुनःप्रयोगयोग्य वस्तुबाट आयआर्जनको बाटो पनि खुलेको छ,” प्रमुख राईले भन्नुभयो ।
महानगरले फोहर व्यवस्थापनलाई थप व्यवस्थित बनाउन आफ्ना ३२ वटा वडालाई सातवटा क्षेत्र (क्लस्टर) मा विभाजन गरेको छ । प्रत्येक क्षेत्रमा एउटा ‘फोहरमैला स्थानान्तरण केन्द्र’ स्थापना गरी सुक्खा फोहरबाट उपयोगी सामग्री छुट्याउन ‘मेटेरियल रिकभरी’ सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
फोहरको मात्रा न्यूनीकरण, पुनःप्रयोग र उचित विसर्जनका लागि महानगरले ‘फोहरमैला सङ्कलन र ढुवानीसम्बन्धी कार्यविधि, २०८१’ जारी गरी कार्यान्वयनमा ल्याएको छ । यसका साथै ‘आय ठेक्का कार्यविधि, २०७९’ बमोजिम निजी क्षेत्र र सार्वजनिक–निजी साझेदारी मोडलमार्फत फोहर सङ्कलन तथा ढुवानीलाई व्यवस्थित गरिँदै छ ।
महानगरले फोहरलाई स्रोतमा नै कुहिने र नकुहिने गरी छुट्याउन नगरवासीलाई निरन्तर आग्रह गर्दै आएको छ । यसले गर्दा ल्याण्डफिल साइटमा जाने फोहरको भार कम हुनुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव देखिएको छ ।