श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवका सवारी चालक मुस्तकिम अपहरण आरोपमा पक्राउ
सप्तरी, २९ वैशाख । अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहार गरेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवका सवारी चालक मुस्तकिम मिँया पक्राउ परेका छन् ।
सप्तरीको महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार राजविराज–८ बाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेका मिँयाविरुद्ध अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
पक्राउ परेका मिँयालाई श्रममन्त्री यादवले २०८२ चैत २७ गते हलुका सवारी चालक पदमा नियुक्ति दिएका थिए । मन्त्रालयको नियुक्तिपत्रमा उनको नाम ‘मो. मुस्तकिम’ लेखिएको छ भने प्रहरीको रेकर्डमा ‘मुस्तकिम मिँया’ उल्लेख छ । स्रोतका अनुसार दुवै नाम गरेका व्यक्ति उनी नै हुन् ।
मिँयाले आफूलाई ‘जेनजी (Gen-Z) आन्दोलन’ को अगुवा दाबी गर्दै जिल्लामा विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएका थिए ।
पीडित पक्षले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार मिँयाले एक व्यक्तिलाई एकान्त ठाउँमा लगेर बन्धक बनाउँदै कुटपिट गरेका थिए । ज्यान मार्ने धम्की दिँदै पीडितको कपडा खोलेर नाङ्गो बनाई भिडियोसमेत खिचेको जाहेरीमा उल्लेख छ ।
उक्त अमानवीय व्यवहारको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएपछि मिँयाको सर्वत्र आलोचना सुरु भएको थियो । सुरुवाती चरणमा मन्त्रीको चालक भएकै कारण राजनीतिक संरक्षणमा उनलाई जोगाउन खोजिएको भन्दै प्रहरीमाथि नै स्थानीयले प्रश्न उठाएका थिए । सर्वत्र दबाब बढेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
श्रम मन्त्री रामजी यादव राष्ट्रिय स्वतन्त्र पार्टी सप्तरी-२ बाट विजयी भएका हुन् ।