वस्तु तथा सेवाको मूल्यसूची अनिवार्य राख्न कास्की प्रशासनको निर्देशन : पालना नगरे कडा कारबाही हुने चेतावनी
काठमाडौँ, वैशाख ३१ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभित्र सञ्चालित सबै प्रकारका वस्तु तथा सेवा प्रदायक व्यवसायहरूलाई अनिवार्य रूपमा मूल्यसूची राख्न निर्देशन दिएको छ । बजारमा वस्तु तथा सेवाको मूल्यमा पारदर्शिता कायम गर्न र उपभोक्ता अधिकारको संरक्षणका लागि प्रशासनले यस्तो कदम चालेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा सोमबार जारी विज्ञप्ति अनुसार, जिल्लाभित्र सञ्चालित दैनिक उपभोग्य वस्तु, फलफूल तथा तरकारी, दूध तथा दूधजन्य वस्तुलगायतका सामग्री बिक्री गर्ने स्थलमा स्पष्ट देखिने गरी मूल्यसूची राख्न आग्रह गरिएको छ ।
यी क्षेत्रमा मूल्यसूची अनिवार्य
प्रशासनले खाद्यान्न, माछा-मासु, बीउबिजन, एग्रोभेट, औषधि, भाँडाकुँडा, फेन्सी तथा कपडा, कस्मेटिक, ब्युटी पार्लर र सैलुनमा मूल्यसूची राख्न भनेको छ। त्यस्तै, होटल तथा रेष्टुरेन्ट, ल्याब, इलेक्ट्रिकल सामान, पूजा सामग्री र स्टेसनरी लगायतका सेवा प्रदायकले पनि आफूले उपलब्ध गराउने वस्तु र सेवाको दररेट स्पष्ट र बुझिने गरी राख्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
व्यावसायिक सङ्घ-सङ्गठनलाई समन्वयको आग्रह
प्रशासनले नेपाल उद्योग वाणिज्य सङ्घ, नेपाल चेम्बर अफ कमर्स, होटल सङ्घ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) लगायतका व्यावसायिक छाता सङ्गठनहरूलाई आफ्ना सदस्य व्यवसायीहरूमाझ यो व्यवस्था कार्यान्वयनका लागि समन्वय गरिदिन अनुरोध गरेको छ।
अनुगमन र कारबाहीको चेतावनी
जिल्ला प्रशासन कार्यालयले स्थानीय तह र सरोकारवाला निकायसँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाउने जनाएको छ। अनुगमनका क्रममा मूल्यसूची नराखेको वा सूचनाको बर्खिलाप गरेको पाइएमा ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ तथा ‘उपभोक्ता संरक्षण नियमावली, २०७६’ बमोजिम कडा कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।