बजारको मागअनुसार नयाँ आइटी पाठ्यक्रम तयार गरिँदै: एआई, डेटा साइन्स र साइबर सुरक्षा प्राथमिकतामा
काठमाडौँ, ५ जेठ । नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रमा बजारको माग र उद्योगको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्न नयाँ शैक्षिक पाठ्यक्रम निर्माणको प्रक्रिया सुरु भएको छ। स्नातक तहअन्तर्गतको आइटी शिक्षालाई समसामयिक, व्यावहारिक र उद्योगमैत्री बनाउन विज्ञहरूले गृहकार्य थालेका हुन्।
सूचना प्रविधि तथा सफ्टवेयर कम्पनीहरूको साझा संस्था ‘नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज’ (नास–आइटी) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले पुरानो पाठ्यक्रमले वर्तमान बजारको माग सम्बोधन गर्न नसकेको भन्दै नयाँ संरचनाको खाँचो औँल्याएका हुन्।
नास–आइटीका अध्यक्ष गौरव पाण्डेले उद्योगले खोजेको सीप र विद्यार्थीले प्राप्त गर्ने शिक्षाबीच ठूलो खाडल रहेको बताउनुभयो। “विद्यार्थीमा आवश्यक सीप नहुँदा एकातिर स्नातक पास गरेका युवा बेरोजगार बस्नुपर्ने र अर्कातिर उद्योगले जनशक्ति नपाउने विडम्बनापूर्ण स्थिति छ,” अध्यक्ष पाण्डेले भन्नुभयो, “त्यसैले हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारलाई दृष्टिगत गरी नयाँ पाठ्यक्रम निर्माणमा जुटेका छौँ।”
नेपाल खुला विश्वविद्यालयको स्कुल अफ आइटीका प्रमुख डा. भोजराज घिमिरेका अनुसार प्रस्तावित पाठ्यक्रममा वर्तमान विश्वको मागअनुसारका नयाँ प्रविधिहरू समावेश गरिनेछ। नयाँ पाठ्यक्रममा विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ र साइबर सुरक्षा जस्ता विषयहरूलाई प्राथमिकता दिइनेछ।
एआईले विश्वभरको आइटी उद्योगलाई रूपान्तरण गरिरहेको सन्दर्भमा नयाँ पाठ्यक्रमले विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता (Problem Solving), डेटा विश्लेषण, क्रिटिकल थिङ्किङ र अत्याधुनिक प्रविधिसँग काम गर्न सक्ने दक्षता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
यो नयाँ पाठ्यक्रम निर्माण प्रक्रियामा नेपाल खुला विश्वविद्यालयसँगै ‘स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी)’ र ‘स्वीस कन्ट्याक्ट’ ले वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराएका छन्। उद्योग र प्राज्ञिक क्षेत्रबीचको यो सहकार्यले नेपालको डिजिटल रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने र नेपाली आइटी जनशक्तिलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने विश्वास लिइएको छ।