कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स जाँदै
काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन आज फ्रान्स प्रस्थान गर्दै हुनुहुन्छ।
उहाँ आज बेलुका फ्रान्सतर्फ उड्ने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यवाहक प्रमुख डंगोलले फेस्टिभलमा चार दिन बिताउनुहुनेछ। सो क्रममा उहाँले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको व्यवस्थापन र आयोजनाबारे अनुभव बटुल्नुका साथै कान्स फेस्टिभलका प्रमुखलाई काठमाडौँ भ्रमणको निम्तो समेत दिनुहुनेछ।
महानगरले निकट भविष्यमा आयोजना गर्न लागेको ‘काठमाडौँ फिल्म फेस्टिभल’को पूर्वतयारीका रूपमा डंगोल कान्स जान लाग्नुभएको हो। यो महोत्सवअन्तर्गत काठमाडौँका विभिन्न टोलहरूमा फिल्म फेस्टिभल आयोजना गर्ने महानगरको योजना छ। अन्तर्राष्ट्रियस्तरको महोत्सवको मोडालिटी बुझ्न यो भ्रमण फलदायी हुने विश्वास लिइएको छ।
युनेस्कोले काठमाडौँ सहरलाई ‘फिल्म सिटी’ (Creative City of Film) को रूपमा घोषणा गरिसकेको छ। सोही गरिमालाई कायम राख्न र अन्तर्राष्ट्रिय मञ्चमा काठमाडौँको उपस्थिति बलियो बनाउन महानगरले सक्रियता देखाएको हो।
कान्स फिल्म फेस्टिभल मे २१ सम्म फ्रान्समा सञ्चालन हुनेछ। विश्वभरका ख्यातिप्राप्त चलचित्रकर्मी र कलाप्रेमीहरूको जमघट हुने यस महोत्सवमा नेपालको तर्फबाट कार्यवाहक प्रमुखको सहभागितालाई चलचित्र पर्यटन र सांस्कृतिक प्रवर्द्धनको दृष्टिकोणले महत्त्वका साथ हेरिएको छ।