इरानमाथि अमेरिकाको पुनः हवाई आक्रमण: शान्ति वार्ता चलिरहँदा रणनीतिक बन्दरगाहमा बमबारी, हर्मुज जलमार्गमा तनाव उत्कर्षमा
वासिङ्टन/तेहरान. १४ जेष्ठ । क्षेत्रीय तनाव र कतारमा जारी अप्रत्यक्ष शान्ति वार्ताका बीच अमेरिकाले दक्षिणी इरानमा फेरि शक्तिशाली हवाई आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी सेनाले गएराति इरानको रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने बन्दर अब्बास नजिकैका सैन्य संरचनाहरूलाई लक्षित गरी हमला गरेको हो।
हर्मुज जलमार्गमा ड्रोन मुठभेड
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का अधिकारीहरूलाई उद्धृत गर्दै एपी ले जनाए अनुसार, हर्मुज जलमार्गमा व्यावसायिक जहाज र अमेरिकी सैन्य टुकडीलाई खतरा उत्पन्न गराएपछि अमेरिकी वायुसेनाले इरानका चारवटा ‘वान–वे अट्याक ड्रोन’ खसालेको थियो। ती ड्रोनहरू खसालेलगत्तै अमेरिकाले पाँचौँ ड्रोन उड्नुअघि नै बन्दर अब्बासस्थित इरानी ड्रोन नियन्त्रण केन्द्रमा भीषण बमबारी गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि बिहीबार बिहानै बन्दर अब्बासको पूर्वी क्षेत्रमा ठूला विस्फोटका आवाजहरू सुनिएको पुष्टि गरेका छन्। द न्युयोर्क टाइम्सका अनुसार इरानको वायु रक्षा प्रणाली सक्रिय पारिएको थियो र हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। तीन दिनभित्र अमेरिकाले इरानमाथि गरेको यो दोस्रो ठूलो आक्रमण हो।
वार्ता र युद्धको विरोधाभास
यो सैन्य कारबाही यस्तो समयमा भएको छ, जब दुवै देशबीच तीन महिना लामो युद्ध अन्त्य गर्न कतारको मध्यस्थतामा अप्रत्यक्ष वार्ता भइरहेको छ। एएफपी का अनुसार फेब्रुअरी २८ देखि सुरु भएको यो द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा बजारमा इन्धनको मूल्य आकासिएको छ र हजारौँले ज्यान गुमाइसकेका छन्।
इरानले हाल आफ्ना विभिन्न विदेशी बैंकहरूमा रोक्का गरिएका करिब २४ अर्ब अमेरिकी डलर फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता सकारात्मक दिशामा अघि बढेको दाबी गरे पनि ‘कार्य सम्पादनका आधारमा मात्र राहत’ दिने रणनीति अपनाएका छन्।
६० दिने ‘रोडम्याप’ को खुलासा
अमेरिकी अनलाइन पोर्टल एक्सियस ले सार्वजनिक गरेको गोप्य मस्यौदा अनुसार, दुवै देश ६० दिने अस्थायी समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारीमा छन्। यस योजना अनुसार:
-
इरानले हर्मुज जलमार्गमा बिछ्याएका सामुद्रिक बमहरू हटाउनुपर्नेछ।
-
६० दिनसम्म उक्त जलमार्गमा कुनै पनि शुल्कबिना जहाजहरूलाई आवतजावत गर्न दिनुपर्नेछ।
-
यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी खुकुलो पार्ने र तेल बिक्रीमा लगाइएको प्रतिबन्धमा छुट दिनेछ।
परमाणु कार्यक्रम र क्षेत्रीय प्रभाव
एक्सियसका अनुसार इरानले आफ्नो युरेनियम प्रशोधन कार्यक्रम स्थगित गर्ने र उच्च प्रशोधित युरेनियमको भण्डार हटाउने विषयमा समेत मौखिक प्रतिबद्धता जनाएको छ। यदि ६० दिनको यो समझदारी सफल भएमा अमेरिकाले मध्यपूर्वमा थपिएका आफ्ना सैनिकहरू फिर्ता गर्ने र लेबननमा इजरायल–हिजबुल्लाहबीच जारी युद्ध समेत रोकिने दाबी गरिएको छ।
यद्यपि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यी सर्तहरूप्रति केही असन्तुष्टि जनाएको बुझिएको छ। अमेरिकाको पछिल्लो आक्रमणले वार्ताको टेबुलमा कस्तो प्रभाव पार्छ भन्नेमा विश्व समुदायको चासो बढेको छ।( स्रोत:अन्तराष्ट्रिय न्यूज एजेन्सी)