होर्मुज जलसन्धि विवाद: अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मित्रराष्ट्र ओमानलाई ‘बमले उडाइदिने’ धम्की
वासिङ्टन डीसी, १४ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रणनीतिक महत्त्वको होर्मुज जलसन्धि को नियन्त्रणका लागि इरानसँग सहकार्य गरेमा मित्रराष्ट्र ओमानमाथि सैन्य बल प्रयोग गर्ने धम्की दिएका छन्।
बुधबार आयोजित मन्त्रिपरिषद् बैठकमा सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले ओमानलाई चेतावनीपूर्ण शैलीमा भने, “त्यहाँ कसैको नियन्त्रण चल्ने छैन। यो अन्तर्राष्ट्रिय जलक्षेत्र हो। ओमानले अरूले जस्तै व्यवहार गर्नुपर्छ, नत्र हामीले उनीहरूलाई बमले उडाउनुपर्नेछ ।”
अल जजिराका अनुसार, विश्वको कुल तेल व्यापारको २० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने यस जलमार्गमा इरान र ओमानले संयुक्त नियन्त्रण राख्ने चर्चाबारे सोधिएको प्रश्नमा ट्रम्पले यस्तो कठोर टिप्पणी गरेका हुन्। सुरुमा ट्रम्पले ‘इरान’ भन्न खोजेको र झुक्किएर ‘ओमान’ भनेको हुन सक्ने अनुमान गरिए तापनि अमेरिकी विदेश मन्त्रालयले सोही अभिव्यक्तिसहितको आधिकारिक ट्रान्सक्रिप्ट सामाजिक सञ्जालमा सेयर गरेपछि ट्रम्पको निशानामा ओमान नै रहेको पुष्टि भएको छ।
रोयटर्सका अनुसार, मध्यपूर्वमा ओमान र अमेरिकाबीच २०० वर्षभन्दा पुरानो मैत्रीपूर्ण सम्बन्ध रहेको छ। ओमानले लामो समयदेखि क्षेत्रमा तटस्थ भूमिका निर्वाह गर्दै आएको छ। तर गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा ओमानले मध्यस्थकर्ताको भूमिका खेल्दै आएको थियो। इरानी सञ्चारमाध्यमहरूले होर्मुज जलसन्धिको व्यवस्थापनका लागि इरान र ओमानबीच समझदारी पत्र को खाका तयार भएको रिपोर्ट सार्वजनिक गरेपछि ट्रम्प आक्रोशित बनेका हुन्। यद्यपि, ह्वाइट हाउसले उक्त रिपोर्टलाई ‘पूर्णतया कपोलकल्पित’ भनेको छ।
‘गनबोट डिप्लोमेसी’ को आलोचना
ट्रम्पको यस धम्कीलाई कतिपय विश्लेषकहरूले ‘गनबोट डिप्लोमेसी’ (सैन्य शक्तिको भरमा गरिने कूटनीति) को संज्ञा दिएका छन्। मानव अधिकारवादी संस्था ‘डन’ का वकालत निर्देशक राएद जरारले ट्रम्पको भाषालाई ‘माफिया डन’ को जस्तो भएको टिप्पणी गरे। एपी का अनुसार, जरारले भने, “संयुक्त राष्ट्र संघको बडापत्रले कुनै पनि देशविरुद्ध शक्ति प्रयोगको धम्की दिन निषेध गरेको छ। ट्रम्पको यो गैरकानूनी तर्कले कुनै पनि सम्भावित युद्धविराम लामो समय नटिक्ने संकेत गर्दछ।”
इजरायलसँगको सम्बन्धमा जोड
बैठकका क्रममा ट्रम्पले इरानसँगको सम्भावित युद्धविरामका लागि साउदी अरब र कतारजस्ता देशहरूले इजरायलसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने सर्त समेत दोहोर्याएका छन्। ट्रम्पले आफ्नो अघिल्लो कार्यकालमा ‘अब्राहम एकोर्ड्स’ मार्फत अरब देशहरू र इजरायलबीचको सम्बन्ध सामान्यीकरण गर्न भूमिका खेलेका थिए।
अहिले पनि उनले यो विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्। ट्रम्पले भने, “इमानदारीपूर्वक भन्नुपर्दा, उनीहरूले (अरब देशहरू) हाम्रो गुण तिर्नुपर्छ। यदि उनीहरूले इजरायलसँग सम्झौतामा हस्ताक्षर गर्दैनन् भने हामीले इरानसँग कुनै सम्झौता गर्नुपर्छ जस्तो मलाई लाग्दैन।”
हाल इरानले होर्मुज जलसन्धि बन्द गरेर त्यहाँ आफ्नो सार्वभौमिकता दाबी गरिरहेको छ। जलसन्धिको केही भाग इरान र ओमान दुवैको क्षेत्रीय जलक्षेत्रमा पर्दछ। अमेरिका र इजरायलले इरानमाथि बमबारी सुरु गरेयता यो क्षेत्र विश्वकै सबैभन्दा संवेदनशील भू-राजनीतिक विन्दु बनेको छ।(स्रोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी)