रविन्द्र ढाँट ‘रोड टु युएफसी’को सेमिफाइनलमा

काठमाडौँ, १४ जेठ । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) का उदयमान स्टार रविन्द्र ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हात पारेका छन् । चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा सम्पन्न प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को क्वाटरफाइनलमा फिलिपिन्सका फाइटरलाई पराजित गर्दै उनी सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

ब्यान्टमवेट विधाको प्रतिस्पर्धामा ‘बझाङको बाघ’ उपनामले चिनिने रविन्द्रले फिलिपिन्सका अनुभवी फाइटर किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउण्डमै हराए । यस जितसँगै उनले आफ्नो व्यावसायिक एमएमए करियरमा १०औँ जितको आँकडा समेत पुरा गरेका छन् ।

रविन्द्रले सुरुमा म्याटी इआनसँग प्रतिस्पर्धा गर्ने तय भएको थियो । तर, इआन घाइते भएपछि अन्तिम समयमा फिलिपिन्सका किम्बर्टलाई उनको प्रतिद्वन्द्वीका रूपमा खडा गरिएको थियो । नयाँ प्रतिद्वन्द्वीका बाबजुद रविन्द्रले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेल अवधिभर विपक्षीलाई कडा दबाबमा राखेका थिए ।

यसअघि भारतको चर्चित ‘मेट्रिक्स फाइट नाइट’ (एमएफएन) मा च्याम्पियन बनेर आफ्नो लोहा मनाइसकेका रविन्द्रको यो सफलताले नेपाली एमएमए क्षेत्रलाई विश्वस्तरमा नयाँ उचाइ दिएको छ ।

ऐतिहासिक जित हात पारेपछि रविन्द्रले एरेनाभित्रै ‘जय नेपाल’ र ‘जय हनुमान’ भन्दै खुसी व्यक्त गरे । सो समयमा खेल हेर्न पुगेका नेपाली समर्थकहरूले ‘जय नेपाल’ को नारा लगाउँदै उत्सव मनाएका थिए ।