बालेन सरकारको बजेट भाषणमा कुलमानको आलोचनाः सरकार उल्टो बाटोमा हिँड्यो
देखेको काठमाडौं, १७ जेठ । दुइतिहाई नजिकको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषण गरेको समयअवधिभरी संसद भवनमै बस्नु भएका प्रधानमन्त्री बालेन्द्र साहले बजेट भाषण भएको मध्यरात वरपर सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्नुभयो । दुई शब्दको उक्त स्ट्याटस ‘ढुक्क हुनुहोस्’ भनिएको थियो ।
उहाँको त्यो ‘ढुक्क हुनुहोस्’ भन्ने शब्दलाई धेरैले बजेट राम्रो आएको भनेर प्रधानमन्त्रीले बचाउ गरेको भनि टिप्पणी गरे । तर, बजेटपछिका प्रतिक्रिया भने सकारात्मक आउन सकेका छ्रैनन् । अघिकांशले बजेट आशा लाग्दो नआएको भन्दै आलोचना गरेका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम तत्कालिन ऊर्जामन्त्री तथा विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समेत बजेटको खुलेर आलोचना गर्नुभएको छ ।
उहाँले मुख्य गरेरसरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लगाउने निर्णयको विरोध गर्नुभएको छ । उहाँले त्यो गलत भएको टिप्पणी गरेको भन्दै नेपाल प्रेसले समाचार छापेको छ ।
घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले भ्याट लगाउने घोषणालाई ‘सरकार उल्टो बाटोमा हिँडेको’ पनि टिप्पणी गर्नुभएको छ । आम उपभोक्ता, ऊर्जा रूपान्तरणको लक्ष्य र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको भन्दै अतिरिक्त कर तत्काल फिर्ता लिन सरकारसँग उहाँले माग गर्नुभएको छ ।
उहाँले विगत आठ वर्षमा उपभोक्तालाई राहत दिन तीन पटकसम्म गरेर विद्युत महसुल २५ प्रतिशतले घटाएको भन्दै प्राधिकरणले महसुल घटाएर आन्तरिक खपत बढाउन खोजिरहेका बेला सरकारले उल्टै नयाँ करको बोझ थपेर विद्युत प्रयोगलाई निरुत्साहित गर्ने कदम चालेको आरोप लगाउनु भएको छ । ‘अहिले सरकारले नै नियमन आयोगको क्षेत्राधिकार बाहिर गएर ट्याक्स लगाइदियो, संसारमा कहीँ पनि नभएको ऊर्जा (विद्युत) मा ५ प्रतिशत भ्याट लगाउने काम नेपालमा गरियो, छिमेकी भारतमा समेत ऊर्जामा यस्तो भ्याट लगाउने व्यवस्था छैन,’ उहाँले भन्नुभएको छ ।