राष्ट्रियता र अखण्डताका विषयमा साझा धारणा बनाउन नेपाल बारको जोड, गैरजिम्मेवार अभिव्यक्तिप्रति सचेत हुन आग्रह
काठमाडौँ, १९ जेठ । नेपाल बार एशोसिएशनले राष्ट्रिय हित, सार्वभौमसत्ता र मुलुकको भौगोलिक अखण्डता जस्ता संवेदनशील विषयमा साझा राष्ट्रिय धारणा बनाउनुपर्नेमा जोड दिएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रियताको सवालमा सबै पक्ष, विशेष गरी कानुन व्यवसायीहरू एकताबद्ध हुनुपर्ने उल्लेख गर्नुभएको हो ।
विज्ञप्तिमा मुलुकको भौगोलिक अखण्डताको विषय अत्यन्तै संवेदनशील हुने भएकाले सार्वजनिक पदमा रहेका र जिम्मेवार व्यक्तित्वहरूले आफ्ना धारणा सार्वजनिक गर्दा थप सजग र गम्भीर हुनुपर्नेमा जोड दिइएको छ । “राष्ट्रियता र सार्वभौमसत्तासँग जोडिएका विषयमा गरिने टिप्पणीले दीर्घकालीन असर पार्ने हुनाले यस्ता विषयमा अपरिपक्व धारणा सार्वजनिक गर्न हुँदैन,” विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय सार्वजनिक वृत्तमा आएका केही विवादास्पद अभिव्यक्तिहरूलाई सङ्केत गर्दै बारले राष्ट्रियताको रक्षाका लागि कानुन व्यवसायीहरूले एकमुष्ट र प्रष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याएको छ । बारले विधिको शासन र राष्ट्रिय स्वाधीनताको संवर्द्धनमा सबै सरोकारवाला निकायहरू जिम्मेवार बन्नुपर्ने समेत आग्रह गरेको छ ।