राष्ट्रियसभाको बैठक सुरु, दुई निर्वाचन सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची
काठमाडौँ, १७ जेठ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज सुरु भएको छ। गत शुक्रबार दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भएपछि राष्ट्रियसभाको नियमित बैठक सुरु भएको हो।
आजको बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्रीका तर्फबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। छलफल पश्चात् उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव समेत बैठकमा प्रस्तुत गरिने कार्यतालिका तय भएको छ।
यसैगरी, बैठकमा प्रतिनिधिसभाबाटै प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव र त्यसलगत्तै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।