खानेपानीको हाहाकार : रित्ता गाग्री बोकेर मेयरको घरमा स्थानीय, दमकलबाट प्यास मेटाउने प्रयास
काठमाडौँ, जेठ १७ । बढ्दो गर्मी र तातो हावाका बीच उदयपुरको कटारी बजार क्षेत्रमा खानेपानीको चरम अभाव देखिएको छ । विगत एक सातादेखि खानेपानीको नियमित आपूर्ति बन्द भएपछि स्थानीय बासिन्दाको दैनिक जीवन कष्टकर बनेको हो ।
कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाको बोरिङमा रहेको मोटर (पानी तान्ने उपकरण) बिग्रिएपछि कटारी नगरपालिका वडा नं. ३, ४ र ५ मा खानेपानीको संकट चुलिएको छ । धारामा पानी आउन छाडेको एक साता बितिसक्दा पनि वैकल्पिक व्यवस्था नभएपछि आक्रोशित स्थानीय बासिन्दा आज बिहान रित्ता गाग्री र बाल्टिन बोकेर नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको निवासमै पुगेका थिए ।
“खाना पकाउन, पिउन र शौचालय जान समेत पानी छैन। यस्तो गर्मीमा पानी बिना कसरी बाँच्ने?,” स्थानीय केदार रानामगरले पीडा पोख्दै भन्नुभयो, “अटो रिक्सामा खोलाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ। यस्तै अवस्था रहे खाना खाने थाल धुने पानी समेत हुने छैन ।”
दमकलबाट पानी वितरण
खानेपानीको अभावमा नगरबासी छटपटाएपछि कटारी नगरपालिकाले संकटकालीन उपाय स्वरूप दमकलमार्फत टोलटोलमा पानी वितरण सुरु गरेको छ । नगरप्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार उपभोक्ता संस्थाको प्राविधिक समस्या समाधान हुन अझै केही समय लाग्ने भएपछि तत्कालका लागि दमकल प्रयोग गरिएको हो ।
“स्थानीयलाई गर्मीमा पिउने पानीको समस्या नहोस् भनेर हामीले दमकलबाट टोलटोलमा पानी पुर्याउन थालेका छौँ,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो। यद्यपि, दमकलको पानीले हजारौँ उपभोक्ताको माग धान्न हम्मेहम्मे परेको छ । कटारी बजारका होटल र साना व्यवसायीहरू पानीकै अभावमा थप मर्कामा परेका छन् ।
किन भयो यस्तो समस्या?
उपभोक्ता संस्थाका अध्यक्ष विष्णु पौडेलका अनुसार पानी तान्ने मुख्य मोटरमा गम्भीर प्राविधिक समस्या आएकाले आपूर्ति ठप्प भएको हो । सुरुमा भारतबाट नयाँ मोटर ल्याउने प्रयास गरिए पनि विराटनगर भन्सारमा प्रक्रियागत ढिलाइ भएपछि अहिले काठमाडौँबाट अर्को मोटर मगाइएको छ ।
“हामीले काठमाडौँबाट नयाँ मोटर मगाएका छौँ, जुन शनिबार वा आइतबारसम्म आइपुग्नेछ,” अध्यक्ष पौडेलले भन्नुभयो, “सम्भवतः सोमबार जडान सकेर मङ्गलबारदेखि नियमित वितरण सुचारु गर्नेछौँ ।”
विकल्पको खोजीमा स्थानीय
पटक-पटक मोटर बिग्रिने र हजारौँ जनता प्यासी बन्नुपर्ने नियति दोहोरिएपछि स्थानीयले ‘ब्याकअप’ का रूपमा अर्को मोटर तयारी अवस्थामा राख्नुपर्ने माग गरेका छन् । अहिले कटारीका कतिपय बासिन्दा खोलाको दूषित पानी प्रयोग गर्न बाध्य छन्, जसले गर्दा महामारीको जोखिम समेत बढेको छ ।
बजार क्षेत्रका बासिन्दाले अबका दिनमा यस्तो संकट आउन नदिन दीर्घकालीन समाधान खोज्न र खानेपानी संस्थालाई थप जिम्मेवार बनाउन स्थानीय सरकारसँग आग्रह गरेका छन्। मंगलबारसम्म पानी आउने आश्वासन पाए पनि तबसम्म दमकलकै पानीको भरमा कटारीबासीले प्यास मेटाउनुपर्ने देखिन्छ ।