प्रधानमन्त्री बालेन साहको गलत अभिव्यक्तिको विरोध गर्न नसके मौन बसिदिन रास्वपा कार्यकर्तालाई भीमार्जुनको आग्रह
काठमाडौं, १९ जेठ । संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्रीको वालेन्द्र साहले संसदमा दिएको अभिव्यक्तिको खुलेर विरोध गर्नुभएको छ । आचार्यले प्रधानमन्त्री साहको गलत अभिव्यक्तिको विरोध गर्न नसके मौन बसिदिन आग्रह पनि गर्नुभएको छ ।
उहाँले नेपालले भारतको जग्गा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको असर नेपालको अखण्डतामा परिसकेको भन्दै रास्वपाका नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुकलाई प्रधानमन्त्रीको शतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक सावित गर्न यो हदसम्मको हर्कत नगरिदिन पनि आग्रह गर्नुभएको छ । ‘एकदिनमै यसको असर हाम्रो अखण्डतामा कति परिसक्यो, मनन् गर्नुस् । देशभन्दा ठूलो अर्को चिज हुँदैन । गलत भन्न सक्नुहुन्न भने मौन बसिदिनुस् । प्लिज ।’
उहाँले यस अघि पनि नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गंभीर छ भन्दै विरोध गर्नुभएको थियो । ‘दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आव्हान अझैं चिन्ताजनक छ । आज सम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन । यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन । यसको सबै भन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो,’ उहाँले भन्नुभएको थियो, ‘सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाईले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहदैन वा सक्दैन भन्ने कुरा दर्शाउॅंछ । सिंगों देश र देशवासी झनै सचेत हुनु पर्ने समय आए जस्तो छ ।’