चितवनमा गोहीको आक्रमणबाट ५६ वर्षीय चोखालको मृत्यु, राप्ती नदी किनारमा भेटियो शव

चितवन, १९ जेठ । चितवनको भरतपुरमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखालको गोहीको आक्रमणमा परी ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चोखाल आज बिहान घाँस काट्नका लागि स्थानीय हरियाली सामुदायिक वनतर्फ जानुभएको थियो । अबेरसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी गर्ने क्रममा उहाँको शव राप्ती नदीको किनारमा फेला परेको हो ।

चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभुषण यादवले मृतकको शरीरको अवस्था हेर्दा गोहीले आक्रमण गरेको देखिएको जानकारी दिनुभयो । “शव फेला पर्दा मृतकको खुट्टा गोहीले खाएको जस्तो क्षतविक्षत अवस्थामा थियो,” उहाँले भन्नुभयो ।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान र मुचुल्का सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाएको छ ।

राप्ती नदी र आसपासका क्षेत्रमा गोहीको जोखिम रहने भएकाले घाँस–दाउरा गर्दा सावधानी अपनाउन प्रहरी र निकुञ्ज प्रशासनले स्थानीयलाई आग्रह गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।