भोटेकोशी बाढी अपडेट: हालसम्म १७७ जनाको शव भेटियाे

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूमध्ये हालसम्म १७७ जनाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीको बहावले बगाएर ल्याएका शवहरू विभिन्न जिल्लाका नदी किनारबाट फेला पारिएको हो।

प्रहरीका अनुसार हालसम्म रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा नौ, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा छ जनाको शव फेला परेको छ। बाढीको तीव्र बहावका कारण रसुवा क्षेत्रबाट बगेका शवहरू तल्लो तटीय जिल्लाहरू तथा नारायणी नदी आसपासका क्षेत्रसम्म पुगेका हुन्।

अहिले पनि बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष टोली खोज तथा उद्धार कार्यमा निरन्तर परिचालित छ। बाढीपहिरोमा परी घाइते भएकाहरूको तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बेपत्ता रहेका अन्य नागरिक तथा पर्यटकहरूको खोजी कार्यसमेत तीव्र रूपमा जारी राखिएको छ।