भोटेकोशी बाढीले जलविद्युत् आयोजनाका ८ कोरियनसहित २०० भन्दा बढी कर्मचारी बेपत्ता, सुरुङमा ६० जना थुनिए

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले निर्माणाधीन तथा सञ्चालित जलविद्युत् आयोजनाहरूमा ठूलो मानवीय क्षति पुर्‍याएको छ। प्राप्त पछिल्लो विवरणअनुसार पाँचवटा प्रमुख जलविद्युत् आयोजनामा कार्यरत आठ जना कोरियन नागरिकसहित २०० भन्दा बढी कर्मचारी तथा कामदारहरू सम्पर्कविहीन भएका छन् भने ६० जना सुरुङभित्रै थुनिएका छन्।

निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो क्षति पुगेको छ। आयोजनाको इलेक्ट्रो–मेकानिकल ठेकेदार ‘एन्ड्रिज हाइड्रो’का ७६ जना कर्मचारी (आधा नेपाली र आधा विदेशी) सम्पर्कविहीन छन्। यस्तै, प्रवर्द्धक कम्पनीका आठ जना कोरियन नागरिकसहित ११ जना कर्मचारी तथा सात जना परामर्शदाताहरू पनि बेपत्ता भएका छन्। हाल आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना र पावर हाउस क्षेत्रमा २०० भन्दा बढी कामदारहरू उद्धारको प्रतीक्षामा रहेका छन्।

यसैगरी, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङभित्र २५ जना स्टाफ र ३५ जना कामदार गरी कुल ६० जना थुनिएका छन्, जससँग हालसम्म कुनै सम्पर्क स्थापित हुन सकेको छैन। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ५१ जना कर्मचारी तथा ५ मेगावाटको मैलुङ खोला आयोजनाका आठ जना कर्मचारी बुधबारदेखि नै बेपत्ता छन्।

१२० मेगावाटको रसुवा भोटेकोशी आयोजनाका सिभिल ठेकेदार सिनो हाइड्रोका दुई जना कामदार बेपत्ता भएका छन् भने तीन चिनियाँ र दुई नेपालीले नजिकैको गाउँमा शरण लिएका छन्। बाढी र पहिरोले सडक सञ्जाल र सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएकाले र खराब मौसमका कारण प्रभावित क्षेत्रमा हेलिकप्टर अवतरण गर्न नसक्दा उद्धार कार्य प्रभावित भएको छ। ऊर्जा मन्त्रालयले उद्धारका लागि गृह मन्त्रालय र नेपाली सेनाको टोलीसँग आवश्यक समन्वय गरिरहेको छ।